कतारका अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा


काठमाडौं, वैशाख ११ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदैछन् । दुईदिने राजकीय भ्रमणका लागि उनी नेपाल आउन लागेका हुन् ।
अमिर थानी बंगलादेशको ढाका हुँदै आज दिउँसो साढे ४ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ । उनको स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल विमानस्थलमा जाने कार्यक्रम तय भएको छ ।
यसैबीच अमिरको भ्रमणका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले अमिर थानीको राजकीय भ्रमणको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
उनको यो भ्रमणबाट कतार र नेपालबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीले बताएका छन् ।
कतारी अमिर एसियाली मुलुकको औपचारिक भ्रमणमा आइतबार निस्किएको तथा त्यस क्रममा उनले फिलिपिन्स, बंगलादेशको भ्रमण गरिसकेका छन् । दुई देशको भ्रमण सकेर नेपाल आउन लागेका अमिर नेपालमा दुई दिन रहने राजदूत अल अन्सारीले बताएका छन् ।
राजदूत अल अन्सारीका अनुसार अमिर अल थानीको तीनवटै देशका उच्च नेतृत्वसँग भेटवार्ता पारस्परिक चासो र सहयोग अभिवृद्धिमा केन्द्रित छ । कतारी प्रतिनिधिमण्डलका नेता अमिरको उपस्थितिमा विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोग प्रवर्द्धन गर्नेसम्बन्धी सम्झौता र सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।























