धनुषामा वियर खाएर पैसा तिर्ने विषयमा विवाद हुँदा एक युवकको हत्या, दुई जना पक्राउ


जनकपुरधाम, चैत ८ । धनुषामा एक युवकको हत्या भएको छ । जनकनन्दनी गाउँपालिका-२ स्थित भारतीय सीमा भन्दा ५० मिटरको दूरीमा रहेको आँप बगैंचामा स्थानीय १८ वर्षीय कैफ नदाफको हत्या भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गएराति अन्दाजी साढे १० बजे मृतक नदाफसहित अन्य दुई युवा २० वर्षीय सहमद नदाफ र २२ वर्षीय दासिम नदाफ मदिरा सेवनका लागि उक्त आप बगैँचामा पुगेका थिए । उनीहरु रोजा खुलेपछि वियर खान बगैँचामा पुगेको खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रञ्जन अवाले जानकारी दिए ।
बियर खाएर फर्किने क्रममा मोबाइलमा भएको भिडियो र वियरको पैसा तिर्ने विषयमा विवाद हुँदा एउटाले चक्कु निकालेर घाँटीमा प्रहार गरेका थिए । गम्भीर घाइते भएका कैफलाई परिवारले उपचारका लागि भारतको जयनगर पुर्याएको थियो । उपचारको क्रममा राति २ बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
हत्या आरोपमा सहमद र दासिमलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी अवाले बताए ।























