डढेलोमा परी घाइते भएका नन्दरामको पनि उपचारको क्रममा मृत्यु


जुम्ला, चैत ८ । कालिकोटको खाँडाचक्र नगरपालिका –५ ढाडगाउँस्थित नवदुर्गा सामुदायिक वनमा लागेको डढेलोमा परी घाइते भएका नन्दराम चौलागाईंको पनि मृत्यु भएको छ ।
गत चैत २ गते बाख्रा चराउन गएको बेला वनमा लागेको डढेलोमा परी घाइते भएका ५० वर्षीय चौलागाईंको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनको ४ दिनदेखि आईसीयूमा राखेर उपचार भइरहेको थियो । उपचारका लागि सबै प्रयास गरे पनि सफल नभएको डा केएन पौडेलले बताए ।
आगोमा जलेर घाइते भएकी उनकी १२ वर्षीया छोरी हेमन्तीको सोमबर दिउँसो मृत्यु भएको थियो । शुक्रबार घरमुनिको वनमा बाख्रा चराउन गएका बुबालाई खाजा पुर्याउन गएकी हेमन्ती र उनका बुबा आगोमा जलेर घाइते भएका थिए । नन्दरामका ४५ वटा बाख्रा पनि जलेर मरेका थिए ।
घाइते बाबुछोरीलाई शनिबार जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानदेखि थप उपचारका लागि बेलुकी हेलिकोप्टरबाट सुर्खेत लगिएको थियो ।























