कुवेतमा मृत्यु भएका तीनै जना युवकको शव नेपाल आइपुग्यो


काठमाडौँ, चैत ५ । कुवेतमा गाडीको ठक्करबाट मृत्यु भएका तीनै जना युवकको शव नेपाल ल्याइएको छ ।
गत मंगलबार बिहान कुवेतको महाबुल्ला क्षेत्रको सी–साइड सडकमा तीव्र गतिमा आएको कारले ठक्कर दिँदा एकै कम्पनीमा कार्यरत ३ नेपालीले नेपालीले ज्यान गुमाएका थिए । उनीहरूको शव पोष्टमार्टमपछि नेपाल पठाइएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मृतकका आफन्तहरूले शव बुझेर घर लगेका छन् ।
कुवेतस्थित नेपाली राजदूतावासका अनुसार गाडीको ठक्करबाट काठमाडौं सानो भर्याङ्गका सुजन कार्की, पन्चदेवल विनायक-५ अछामका सुरज बहादुर कडायत र धनुषाका धिरज गुर्मछान मगरको मृत्यु भएको हो । तीनै जना कुवेतको पापाजोन कम्पनीमा काम गर्थे । उनीहरूको शव फरवानिया हस्पिटलमा पोष्टमार्टम गरेपछि नेपाल पठाइएको कुवेतस्थित नेपाली राजदूतावासले जनाएको छ ।
सुरजको शव उनका अंकलका छोरा झंकरबहादुर कडायतले बुझेर घर लगेका छन् । कार्की र मगरको शव पनि आफन्तहरूले बुझिसकेका छन् ।























