मुख्य समाचार

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

नवलपुर टुडे
२०८० चैत्र २ | मध्यान्ह ०१:१२ बजे

काठमाडौँ, चैत २ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद बैठक बोलाएका छन् । प्रधानमन्त्री ‘प्रचण्ड’ ले शुक्रबार साँझ ५ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

सुन तस्करी प्रकरणको अनुसन्धानमा जाँचबुझ आयोगले दिएका प्रतिवेदन कार्यान्वयनबारे छलफल गर्न मन्त्रिपरिषद बैठक बस्न लागेको हो । यही प्रकरणको अनुसन्धानमा मुछिएका केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख एआइजी किरण बज्राचार्य लगायतलाई विभागीय कारबाहीको तयारी भएको छ ।

सुन तस्करी प्रकरणमा उनीहरुले त्रुटिपूर्ण अनुसन्धान गरेको र सुनमा संलग्नहरूसँग ‘नेक्सस’ देखिएको आरोपमा एआईजी बज्राचार्य, अनुसन्धान समितिका संयोजक प्रहरी उपरीक्षक (एसपी) सञ्जय सिंह थापा, प्रहरी नायव उपरीक्षक (डीएसपी)द्वय दुर्गा दाहाल र रुगम कुँवरलाई कारबाही गर्न सिफारिस गरिएको छ ।

हङकङबाट ल्याएको ६० किलो सुन र दुबईबाट भेपमा लुकाएर ल्याएको सुनबारे अनुसन्धान गर्न असोज १४ मा मन्त्रिपरिषद्ले जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले जाँचबुझ गरेर बिहीबार प्रतिवेदन बुझाएको छ ।

कमेन्टहरु