टेरामक्स खरिद प्रकरणः पूर्वमन्त्री कार्कीले अख्तियारको पत्र बुझे


काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रकरणमा मुछिएका पूर्व मन्त्री एवं प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र बुझेको उच्च स्रोतले जनाएको छ।
केही दिन अघि नै उनले अख्तियारले बयानका लागि बोलाएकोमा साे सम्बन्धी पत्र बुझेको र त्यसको जवाफ समेत दिइसकेको अख्तियार उच्च स्रोतले जनाएको छ। टेरामक्स प्रकरणमा मुछिएका कर्मचारी सबैले बयान दिइसक्दा पनि बहालवाला मन्त्री मोहनबहादुर बस्नेत र पूर्व मन्त्री कार्कीले बयान दिएका थिएनन्।
मुद्दा दर्ताको अन्तिम चरणमा पुगेको अख्तियार उनीहरु दुई जनाको बयानले रोकिएको थियो। त्यसमध्येका एक पूर्वसञ्चारमन्त्री कार्कीले अख्तियारको पत्र बुझेर जवाफ दिइसकेको अख्तियारको उच्च स्रोतले जनाएको छ। ‘केही दिन अघि उहाँले पत्र बुझिसक्नु भएको थियो, सायद जवाफ पनि दिइसक्नु भयो’, उच्च स्रोतले भन्यो।
अख्तियारले बयानका लागि पटकपटक बोलाए पनि स्वास्थ्य मन्त्री बस्नेत अहिलेसम्म गएका छैनन्। कार्कीले दुई दिन अघि प्रतिनिधि सभाको बैठकबाट बाहिरिँदै गर्दा आफू मिडियामा प्रचार भए जस्तो फरार नभएको प्रतिक्रिया दिएका थिए।
‘मेरो यसमा कुनै प्रतिक्रिया छैन र तपाईँहरूलाई पनि स्वस्थ पत्रकारिता गर्नको निमित्त म आग्रह गर्छु’, उनले सोमबार सञ्चारकर्मीहरुसँग भनेका थिए। उनले थप केही कुरा भए पछि गर्ने पनि बताएका थिए। ‘केही कुरा भए म पछि तपाईँहरूसँग कुरा गर्ने छु तपाईँहरू अनुसन्धान गर्नुस् जानुस्’, पूर्व मन्त्री कार्कीले भनेका थिए।






















