राजनीति

एकीकृत समाजवादीको राष्ट्रिय परिषद बैठक आजदेखि सुरु

जगत ठाडा मगर
२०८० माघ १४ | बिहान ०७:१० बजे

काठमाडौँ, माघ १४ । नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय परिषद बैठक आजदेखि बस्दैछ । आज बिहान ११:३० बजे काठमाडौँको प्रज्ञा भवन कमलादीमा पार्टीका अध्यक्ष माधवकुमार नेपालले बैठकको उद्घाटन गर्नेछन् ।

बैठकले पार्टीको नेतृत्वमा ७० वर्ष उमेरको हदबन्दी हटाउन, युवा सहभागिता वृद्धि गर्न, केन्द्रीय कमिटीको आकार सानो बनाउने विषयलाई प्राथमिकता दिने भएको छ । यस्तै बैठकमा पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण, कार्य योजनासहितको विधान मस्यौदामाथि छलफल हुनेछ ।

पार्टीले विधानको मस्यौदा तयार पार्न उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको थियो । बैठकले मस्यौदा अनुमोदन गरेपछि पार्टीले त्यसैका आधारमा आगामी जेठ पहिलो साता पार्टीको महाधिवेशन गर्नेछ ।

राष्ट्रिय परिषद बैठक भोलिसम्म चल्नेछ । एकीकृत समाजवादीले आगामी जेठ ३ गतेदेखि पहिलो राष्ट्रिय महाधिवेशन गर्दैछ । 

कमेन्टहरु