जनआन्दोलनमा ‘झण्डै मारिएका’ भट्टको राष्ट्रियसभा यात्रा


कैलाली । ०६२ चैत २८ मा जनआन्दोलन उत्कर्षमा थियो । धनगढीमा ठुलो सङ्ख्यामा आन्दोलनकारीहरूको उपस्थिति थियो । चैत २४ मा धनगढीमै होरीलाल राना थारुको ज्यान गएपछि आन्दोलन थप सशक्त बनेको थियो ।
चैत २८ मा हजारौँको सङ्ख्यामा आन्दोलनकारी जुलुससहित धनगढीको क्याम्पस चोकबाट चौराहातिर आउँदै थिए । जिल्ला प्रहरी कार्यालय नजिकैको पुलमा प्रहरीले काँडे तार तेर्स्याएर बाटो अवरुद्ध पारेको थियो । त्यहाँ पुगेपछि प्रहरी र आन्दोलनकारीबीच झडप भयो । झडपमा परी १ सय ८२ जना घाइते भए ।
त्यो दिनको स्मरण गर्दै केही दिन अघिसम्म जन-आन्दोलनका घाइते नारायणदत्त भट्ट भन्थे, ‘मलाई त मार्ने उद्देश्यले नै आक्रमण भएको थियो तर पत्रकार मानवअधिकारवादीहरूसँगै भएकाले प्राण मात्रै लिन सकेनन् ।’

अपाङ्ग तथा अल्पसङ्ख्यक तर्फबाट कांग्रेसका भट्ट निर्वाचित भएका हुन् उनले ४ हजार ४१९ मत पाए । उनका प्रतिस्पर्धी एमालेका रामचन्द्र जोशीले १ हजार ५७१ मत प्राप्त गरे । धनगढी उपमहानगरपालिका–४ उत्तरबेहेडीमा बस्दै आएका भट्ट अहिले कैलाली कांग्रेस पार्टी सभापति पनि छन् । प्रहरीको आक्रमणबाट भट्टको दायाँ खुट्टा फ्याक्चर छ ।
राष्ट्रियसभा सदस्यमा निर्वाचित भएपछि १८ वर्ष पहिलेको घटना सम्झँदै उनले भने, ‘इमानदारिता र लगनशीलताको मैले उपहार पाएको छु ।’
उनले थप जिम्मेवारी आएको भन्दै कुशलतपूर्क ढङ्गले निभाउने प्रयत्न गर्ने बताए ।






















