गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डे र जापानी राजदूतबिच भेटवार्ता

नवलपुर टुडे


कास्की, असोज २३ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपालका लागि जापानी राजदूत किकुता युताका बिच भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मङ्गलबार भएको भेटमा मुख्यमन्त्री पाण्डेले नेपाल र जापानको लामो समयदेखि मित्रवत् सम्बन्ध रहेको बताउनुभयो ।
गोरखा केन्द्रबिन्दु भएर २०७२ सालमा गएको भूकम्पपछिको पुनर्निर्माण, विद्यालय निर्माण लगायतका काममा जापान सरकारले गरेको सहयोग स्मरण गर्नुहुँदै मुख्यमन्त्री पाण्डेले स्वास्थ्य, शिक्षा, पूर्वाधारको क्षेत्रमा सहकार्यको अपेक्षा गरेको सुनाउनुभयो ।
जापान सरकार र मातहतका दातृसंस्थाले स्वास्थ्यको क्षेत्रमा सहयोग गर्दै आएको बताउनुहुँदै मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारको ‘हर्ट हस्पिटल’ बनाउने योजनामा सहकार्य आवश्यक रहेको बताउनुभयो ।
गण्डकी प्रदेशका केही जिल्लाहरू निकै दुर्गम रहेकाले त्यहाँ पूर्वाधार निर्माणमा सहयोगको जरुरी रहेको उहाँले सुनाउनुभयो । प्रदेशसँगको स्रोत साधनले मात्रै सबै काम गर्न सम्भव नभएको र भौगोलिक विकटताले पनि पूर्वाधार निर्माण खर्चिलो भएको उहाँले बताउनुभयो ।
‘‘विभिन्न देश र दातृ निकायहरूको सहकार्यमा प्रदेशभित्र सबै ठाउँमा विकासको गति सँगसँगै लैजानुपर्नेछ । हामी सबै देश र दातृ निकाय सँगको सुमधुर सम्बन्धमा गण्डकी प्रदेशको विकास चाहन्छौँ,’’ मुख्यमन्त्री पाण्डेले भन्नुभयो ।
विपद्को सामना गर्दै अघि बढेको जापानबाट नेपालले विपद् पूर्व तयारी र त्यसपछिको पुनर्निर्माण सिक्न आवश्यक रहेको बताउँदै उहाँले भूकम्प, बाढी, पहिरो जस्ता विपद्को क्षेत्रमा सहकार्यको अपेक्षा रहेको उल्लेख गर्नुभयो ।
नेपालका लागि जापानी राजदूत किकुता युताकाले नेपाल एक सुन्दर देश र गण्डकी प्रदेश अझै सुन्दर रहेको बताउनुभयो । जापान सरकार र अन्तर्गतका दातृनिकायले निरन्तर नेपालमा गर्दै आएको सहयोग निरन्तरता पाउने बताउँदै उहाँले गण्डकी प्रदेश सरकारसँग पनि सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो । जापान सरकारले पनि नेपालसँग दिगो सम्बन्ध राख्न चाहेको उहाँले सुनाउनुभयो ।
भेटमा स्थानीय जिविकोर्पाजन, खाद्य सुरक्षा, कृषि, ग्रामीण अर्थतन्त्रको विकास र रोजगारी सिर्जना लगायतका विषयमापनि छलफल भएको थियो । भेटघाटमा मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव लक्ष्मी बस्नेत, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटा, प्रदेश सचिव बद्रीनाथ अधिकारी, निजी सचिव राजेन्द्र क्षेत्री लगायतको उपस्थिति थियो ।

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी


तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ
अरुपनि पढ्नुहोस
सबै
आजको विदेशी मुद्राको विनिमय दर

गोली हान्न लगाएर उपचारको प्रचारबाजी गर्न लाज लाग्दैन ? भन्दै युवा नेता दुबेको कडा टिप्पणी

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा
















