मुख्य समाचार

नेपालको पहिलो ‘फर्पिङ जलविद्युत केन्द्र’लाई ऊर्जा सङ्ग्रहालय बनाइने

नवलपुर टुडे
२०८० साउन १६ | मध्यान्ह ०२:०४ बजे

काठमाडौँ, साउन १६ । नेपालको पहिलो र एसियाकै दोस्रो पाँच सय किलोवाट जडित क्षमताको फर्पिङ जलविद्युत केन्द्रलाई ऊर्जा सङ्ग्रहालयको रुपमा विकास गरिने भएको छ । नेपाल विद्युत् प्राधिकरणले केन्द्रलाई जलविद्युत सङ्ग्रहालय र पर्यटकीय स्थलका रूपमा विकास गर्न एनईए इन्जिनियरिङ कम्पनीलाई परामर्शदाताका रूपमा नियुक्त गरेको छ ।

ऐतिहासिक जलविद्युत केन्द्रलाई पर्यटनसँग जोडेर पुराना संरचनाहरूको जीर्णोद्धार र खाली रहेको जग्गामा नयाँ संरचनाहरू निर्माण गरिने विद्युत् प्राधिकरणले जनाएको छ । काठमाडौँको दक्षिणकाली नगरपालिकास्थित केन्द्रको जलाशय र विद्युत् गृह क्षेत्रमा रहेको जग्गामा हरियाली पार्क, रेस्टुरेन्ट, पसल, जिप लाइन, पिकनिक स्पट, पुस्तकालय, वाल उद्यानलगायतका संरचनाहरू निर्माण गरिने छन् । जलविद्युत केन्द्रका संरचनाहरूलाई जीर्णोद्धार गरी सङ्ग्रहालयको रूपमा विकास गरिने छ ।

परामर्शदाताले तयार पारेको गुरुयोजना कार्यान्वयनका लागि करिब एक अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । केन्द्रको स्वामित्वमा तीन सय २४ रोपनी जग्गा छ । पर्यटकीय संरचनाहरू निर्माणका लागि जलाशय क्षेत्रको ४६ रोपनी र विद्युत् गृह क्षेत्रको करिब १ सय ४६ रोपनी जग्गा प्रयोग गरिने छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले परामर्शदाताको प्रतिवेदन आएपछि केन्द्रलाई ऊर्जा सङ्ग्रहालय, अनुसन्धान केन्द्र र पर्यटकीय स्थलको रूपमा विकासका कार्यहरु अगाडि बढाइने बताए । फर्पिङ जलविद्युत केन्द्र सन् १९६८ जेठ ९ गतेलबाट औपचारिक रूपमा सञ्चालनमा आएको थियो । तत्कालीन राजा पृथ्वी वीरविक्रम शाहबाट टुँडिखेलमा बत्ती बालेर उद्घाटन भएको उक्त जलविद्युत् केन्द्रबाट राजपरिवार, राणापरिवारलगायतलाई विद्युत् वितरण गरिएको थियो ।

राणा प्रधानमन्त्री चन्द्रशमशेरको शासनकालमा निर्माण भएकाले केन्द्रको नाम चन्द्रज्योति राखिएको थियो । करिब चार वर्ष लगाएर निर्माण गरिएको आयोजनाको लागत ७ लाख १३ हजार रुपैयाँ थियो । केन्द्र २०३८ सालसम्म निरन्तर सञ्चालनमा थियो । तर त्यसपछि ललितपुरका विभिन्न क्षेत्रमा खानेपानी आपूर्तिका लागि जलाशयको पानी, टर्बाइनमा प्रवेश नगराई प्रयोग गर्न थालेपछि विद्युत् गृहको सञ्चालन बन्द भएको थियो ।

केन्द्रको मर्मत सम्भार गरी पुनः २०६३ साल पुसबाट आवश्यक पर्दा सञ्चालन गर्न सकिने गरी चालू हालतमा राखिएको छ ।

कमेन्टहरु