मुख्य समाचार

कीर्तिमानी सगरमाथा आरोही बुढामगरलाई माओवादी केन्द्रले गर्‍यो सम्मान

नवलपुर टुडे
२०८० जेष्ठ १६ | मध्यान्ह ०१:०२ बजे

काठमाडौँ, जेठ १६ । नेकपा (माओवादी केन्द्र)ले कृत्रिम खुट्टाको सहायताले सगरमाथाको सफल आरोहण गरेका हरि बुढामगरलाई सम्मान गरेको छ । मंगलबार पेरिसडाँडास्थित पार्टी केन्द्रिय कार्यालयमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले उनलाई सम्मानपत्रसहित खादा ओढाएर सम्मान गरेका हुन् ।

त्यस अवसरमा महराले अपांगता भएका व्यक्तिहरुको टिम नै बनाएर विश्वव्यापी रुपमा शान्तिको अभियान छेड्ने बुढामगरको अभियान रहेको र त्यसमा आफू र आफ्नो पार्टीले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले कीर्तिमानी बुढामगरको आफ्नो जीवनलाई थप साहसका साथ अघि बढाउने मिशनको सफलताको पनि कामना गरे । पार्टीको सम्मान कार्यक्रममा सहभागी भएकोमा पनि महराले बुढामगरप्रति आभार व्यक्त गरे । 

कार्यक्रममा बोल्दै बुढामगरले अपांगताको क्षेत्रमा जागरण ल्याउन आफूले सगरमाथाको आरोहण गरेको बताए । उनले यस क्षेत्रमा सरकारलाई पनि केही गर्न आफ्नो अभियानले सचेत गराएको पनि बताए । बुढामगरले अपांगता भएका व्यक्तिहरुलाई दया र माया भन्दा पनि अवसर र मौका दिन आग्रह गरे । 

बेलायती सेनामा कार्यरत रहँदा दुवै खुट्टा गुमाएका बुढामगरले गत जेठ ५ गते सगरमाथाको सफल आरोहण गरेका थिए । 

कमेन्टहरु