प्रधानन्यायाधीशमा सिफारिस भएका कार्कीविरूद्ध उजुरी दिन १० दिनको समय


काठमाडौं, जेठ १६ । संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस गरेका हरिकृष्ण कार्कीविरूद्ध उजुरी दिन आह्वान गरेको छ ।मंगलबार सिंहदरबारमा बसेको सुनुवाइ समिति बैठकले कार्कीविरूद्ध १० दिनभित्र उजुरी दिन सकिने निर्णय गरेको हो ।
कार्कीविरूद्ध उजुरी आह्वान गर्ने सूचना गोरखापत्र प्रकाशन र नेपाल टेलिभिजनमा प्रशारण हुनेछ । कार्कीविरूद्ध पत्र र इमेलबाट उजुरी दिन सकिनेछ । उजुरीकर्ताको परिचय उनीहरूको अनुरोधमा समितिले गोप्य राख्नेछ भने बेनामे उजुरीलाई भने प्राथमिकता नदिनेबारे समितिमा छलफल भएको छ ।
सुनुवाइ समितिको बैठक ज्येष्ठ सदस्य राप्रपा सांसद पशुपतिशमशेर राणाको अध्यक्षतामा बसेको थियो । यो बैठकले सुनुवाइ समिति कार्यविधि पनि पारित गरेको छ । सुनुवाइ समितिको पहिलो बैठकमा सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सम्बोधनसमेत गरेका थिए।
गत वैशाख २५ गते बसेको संवैधानिक परिषद बैठकले प्रधानन्यायाधीशमा कार्कीलाई सिफारिस गर्ने निर्णय गरेको थियो । कार्की लामो समयदेखि सर्वोच्चमा कामु प्रधानन्यायाधीशको रुपमा छन् ।























