कीर्तिमानी सगरमाथा आरोही हरि बुढा मगरलाई एमालेको सम्मान (तस्बिरहरू)


काठमाडौं, जेठ १४ । नेकपा एमालेले कृत्रिम खुट्टाको सहायताले सगरमाथाको सफल आरोहण गरेका आरोही हरिबहादुर बुढा मगरलाई सम्मान गरेको छ ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा आइतबार एक कार्यक्रम आयोजना गरी सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान राख्न सफल बुढा मगरलाई पुष्प गुच्छासहित सम्मान गरेका हुन् ।
कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले बुढा मगरले गरेको सगरमाथाको सफल आरोहण अपांगता भएका व्यक्तिहरूलाई मात्र नभएर सबै नेपाली र विश्वका लागि नै प्रेरणादायी रहेको बताए । मान्छेले साहस, सङ्कल्प गर्यो भने जस्तोसुकै कठिन काम पनि गर्न सक्छ भन्ने उदाहरण उनले विश्वमानै पेश गर्नु भएकोले पार्टीले उनलाई सम्मान गरेको पनि ओलीले स्पष्ट पारे ।
कार्यक्रममा बोल्दै कीर्तिमानी सगरमाथा आरोही बुढा मगरले अपाङ्गता भएका व्यक्तिहरूमा जागरण ल्याउने उद्देश्यले आफूले सगरमाथा आरोहण गरेको बताए । त्यस अवसरमा उनले अपाङ्गता भएका व्यक्तिहरूलाई दया र माया भन्दा पनि साथ र अवसर दिन आग्रह गरे । बुढा मगरले आफ्नो सगरमाथा आरोहणले नेपाल र नेपालीको शिर सगरमाथा भन्दा उँचो राख्न सहयोग पुगेको होला भन्ने आशा आफूले राखेको पनि बताए ।
भूतपूर्व गोरखा सैनिक मगर सन् २०१० मा अफगानिस्तानको लडाईंमा दुवै खुट्टा गुमाएका थिए । घुँडाभन्दा तल दुवै खुट्टा गुमाउने र कृत्रिम खुट्टाको सहारामा सगरमाथा आधार शिविरसम्म पदयात्रा गर्ने बुढा मगर पहिलो व्यक्ति हुन् । बुढा मगरले यसअघि मोन्ट ब्लाङ्क (४,८१० मिटर), चुलु सुदूरपूर्व (६,०५९ मिटर), किलिमन्जारो (५,८९५ मिटर), र मेरा पिक (६,४७६ मिटर) आरोहण गरिसकेका थिए ।
उनले गत जेठ ५ गते सगरमाथाको आरोहण गरेका थिए ।


























