गिभिना र नर्सहरुबीचको विवाद के हो ?


१४ लाख फलोअर्स भएको गिभिनाको टिकटक आइडी ‘ब्यान्ड’
काठमाडौं । पेशाले शिक्षिका तथा समाजसेवी गिभिना मगरको टिकटकमा १४ लाख भन्दा बढी फलोअर्स थिए । तर, हालै टिकटकले उनको अकाउन्ट बन्द गरिदियो । आखिर किन त ?
यसको जरो जोडिएको छ, भरतपुर क्यान्सर अस्पतालको एउटा घटनासँग । क्यान्सर लागेकी १६ वर्षीया अर्चना मगरको उपचार सो अस्पतालमा भइरहेको थियो । उनको उपचारमा सहयोग गर्दै आएकी गिभिना केही दिनअघि अस्पताल पुगेकी थिइन् । त्यहाँ ड्यूटीमा रहेका नर्ससँग उनको विवाद भयो ।
गिभिनाका अनुसार २ बजे सिरिन्जबाट प्रयोग गर्नुपर्ने औषधि साढे ४ बजे दिइएको थियो । तर नर्सले रेकर्ड भने दुई बजेकै राखेपछि आफूले प्रतिवाद गरेको उनको दाबी छ । बिरामीलाई साढे २ घण्टाको असरले जे पनि हुन सक्ने भन्दै आफूले प्रश्न गर्दा नर्सहरुले आफू र बिरामीमाथि नै अपमानजनक शब्दहरु प्रयोग गरेको उनले टिकटक भिडिओमा बताएकी छन् ।
‘मैले नर्सलाई २ बजे प्रयोग गर्नुपर्ने औषधि साढे ४ बजे प्रयोग गरेर रेकर्डमा २ बजे लेख्न मिल्छ ? भनेर सोधेको भिडिओ पोस्ट नगर्न नर्सहरुले दवाव दिए । त्यसपछि मैले भिडिओ ड्राफ्टमा राखेको थिएँ । तर, बिरामी र ममाथि पनि खराब व्यवहार भएपछि भिडिओ पोस्ट गरेको हुँ’, गिभिनाले सामाजिक सञ्जालमा भनेकी छन् ।
गिभिनाले अर्चनाको उपचारमा आर्थिक सहयोगका लागि टिकटक तथा फेसबुकमार्फत अपील गरेकी थिइन् । यसलाई लिएर नर्सहरुले आपत्ति जनाएका छन् । बिरामीको फोटो भिडिओ हालेर रकम संकलन गरेको भन्दै उनीहरुले टिकटकमा रिपोर्टसमेत गरेपछि गिभिनाको अकाउन्ट ब्यान्ड भएको बुझिन्छ ।
आफूले विभिन्न व्यक्तिहरुबाट उठाएको सहयोगले बिरामीको उपचार गराउँदा नर्सहरुले भिखारी भन्दै अपमान गरेको गिभिनाको आरोप छ ।
आर्थिक अभावका कारण दुई महिनादेखि उपचार रोकिएपछि जीवनरक्षाका लागि अर्चनाले आग्रह गरेको र आफूले सहयोग जुटाउन थालेको उनी बताउँछिन् । व्यक्तिगत रुपमा नचिनेकी अर्चनालाई आफूले स्वच्छ मनले उपचारमा सहजीकरण गर्दा नर्सहरुबाट खराब व्यवहार भएको उनको गुनासो छ ।
अर्चना ९ वर्षकै हुँदा बुबाको निधन भएको थियो । अर्को विवाह गरेर गएकी आमाले नै पहिले खर्च जुटाउँदै उपचार गराएकी थिइन् । तर, उनले पनि हात छोडेपछि आफूले अग्रसरता लिएको गिभिनाको भनाइ छ ।
अस्पतालमा नर्स र गिभिनाबीचको विवाद जिल्ला प्रहरी कार्यालय चितवनमा समाधान भइसकेको तर त्यसपछि सोही अस्पतालमा कार्यरत नर्सको छोराले फोन गरेर आफूलाई धम्की दिएको गिभिनाले दाबी गरेकी छन् ।
त्यसपछि आफू केही मानिसहरुसहित अस्पताल पुगेर धम्कीबारे कुरा गर्दा करिब डेढ दर्जन नर्सहरुले घेरेर ‘भिखारी’ को आरोप लगाएको पनि उनको भनाइ छ । गिभिनाका समर्थक र स्थानीय तथा अन्य बिरामीका आफन्तले भने नर्सहरुको कार्यशैलीप्रति विरोध जनाउँदै प्रदर्शन गरेका थिए ।
घटना बाहिर आइसकेपछि नर्सको व्यवहारप्रति असन्तुष्ट जनाउँदै अस्पताल प्रांगणमा प्रदर्शन भयो । जहाँ नर्सहरुलाई पनि गालीगलौज गरिएको थियो । टिकटकमा पनि तिव्ररुपमा गालीगलौज सुरु भएपछि नर्सहरुले आफूमाथि अपमान भएको तथा गलत प्रचार गरिएको भन्दै जिल्ला प्रहरीका कार्यालय चितवनमा निवेदन दिएका छन् । प्रहरीले दुवै पक्षलाई मिलाउने प्रयास गरिरहेको छ ।
यस विषयमा गिभिनासँग कुरा गर्न खोज्दा प्रहरीले मेलमिलापको प्रयास भइरहँदा मिडियासँग कुरा नगर्नु भनेको बताइन् ।
अनुमतिबिना भिडिओ खिचेर टिकटकमा हाल्नु गलत हो : नर्सिङ संघ
नर्सिङ एसोसियसन अफ नेपालले हिजै एक विज्ञप्ति जारी गर्दै नर्सहरुविरुद्ध भएको नाराबाजीप्रति निन्दा गरेको छ । महासचिव नर्वदा थापा र सचिव प्रमिला थकालीद्वारा हस्ताक्षरित विज्ञप्तिमा ड्यूटीको समयमा भएका बिरामी, कुरुवा र नर्सबीच भएको संवादलाई अनुमतिबिना भिडिओ खिचेर सामाजिक सञ्जालमा पोस्ट गरिएको भन्दै दुख व्यक्त गरिएको छ । यस्ता कार्यमा सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि सचेत हुन संघले आग्रह गरेको छ ।
नेपाल प्रेससँग कुरा गर्दै महासचिव थापाले अस्पतालका नर्सले २ बजे प्रयोग गर्ने औषधि ४ बजे मात्रै आइपुगेपछि गर्ने भनेर सोधेको र पछि विवाद मिलेको बताइन् । त्यसपछि के भयो भन्नेबारे धेरै जानकारी नभएको भन्दै उनले भोलि पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने जानकारी दिइन् ।
‘हामीलाई पनि ठ्याक्कै सबै कुरा थाहा छैन, तर २ बजे चलाउनुपर्ने औषधि ४ बजे मात्रै आइपुगेछ र नर्सले के गरौं भनेर सोध्दा आपसी विवाद भएको रहेछ । यस विषयमा हामी भोलि थप प्रष्ट पार्छौं’, थापाले भनिन् ।
नर्सहरुको प्रदर्शन
यसैबीच आफूहरुमाथि सामाजिक सञ्जालमा गालीबेइज्जती भएको भन्दै नर्सहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । माइतीघरमा उनीहरुले प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।
टिकटक लगायत अन्य सामाजिक सञ्जालमा नर्सहरूको चरित्र हत्या गरिएको उनीहरुको गुनासो छ । विभिन्न भिडिओलाई लिएर नर्सहरूमाथि आरोप लगाउने, चरित्रहत्या गर्ने काम भएकोले त्यस्तो बन्द गर्न नर्सहरुले आग्रह गरेका छन् । भिडिओ बनाएर हाल्ने व्यक्तिहरूलाई पनि कारबाहीको माग गरेका छन् ।
यस्तै, नर्सहरूको सुरक्षा, सेवा–सुविधाका सवालमा पनि सरोकारवालाहरूको ध्यानाकर्षण गराइएको छ । त्यसैगरी विभिन्न मेडिकल कलेजहरूमा नर्सहरूमाथि हुने गरेका दुव्र्यवहार विरुद्ध पनि प्रदर्शन गरिएको उनीहरूको भनाइ छ । नेपाल प्रेसबाट साभार























