मुख्य समाचार

भारतमा उपचाररत सांसद चन्द्र भण्डारी आइतबार स्वदेश फर्कने 

नवलपुर टुडे
२०८० बैशाख १६ | बिहान ०८:०१ बजे

काठमाडौं, वैशाख १६ । भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य चन्द्रकान्त भण्डारी यही वैशाख १७ गते आइतबार स्वदेश फर्कने भएका छन् । गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगालागीबाट गम्भीर घाइते भण्डारी स्वास्थ्य उपचारपछि आइतबार स्वदेश फर्कन लागेका हुन् । 

भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारी आइतबार दिउँसो २ः५५ बजेको नेपाल वायुसेवा निगमको विमानमार्फत स्वदेश फर्कन लागेका भण्डारी निकट कांग्रेस नेता माधव न्यौपानेले  जानकारी दिए । उनी साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नेछन् । पछिल्लो समय नेता भण्डारीको स्वास्थ्यमा सुधार आएको छ। उनी बोल्ने र हिँड्ने गर्न थालेका छन् । 

नेपाल फर्केसँगै भण्डारी घरमा बसेर फिजियोथेरापी गर्नुका साथै पोलेको घाउ ड्रेसिङ गर्न अस्पताल जानेछन् । आगलागीमा परी नेता भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए । उनकी आमा हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते निधन भएको थियो । 

नेता भण्डारीलाई सोही दिन थप उपचारका लागि एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो । रासस

कमेन्टहरु