दाइजोको निहुँमा यातना : ससुरा र देवरले समाए, श्रीमानले आगो लगाइदिए


जनकपुरधाम, वैशाख ८ । जनकपुरधाममा दाइजोको निहुँमा एक महिलामाथि श्रीमान्, सासु, ससुरा र देवर मिलेर शरीरमा आगो लगाईदिएका छन् । यो घटना जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रुपैठाको हो ।
श्रीमती श्वेता झालाई श्रीमान् राजिव झा, ससुरा शिवशंकर झा, सासू र देवर मिलेर शरीरमा आगो लगाई हत्याको प्रयास गरेका थिए । स्वेताको शरीरको ३५ प्रतिशत भाग आगोले जलेको छ । छातीको तल्लो भागदेखि तिघ्रासम्म जलेको उनको दुई दिनदेखि प्रादेशिक अस्पताल जनकपुरधामको ‘बर्न वार्ड’ मा उपचार चलिरहेको छ ।
गत वैशाख १ नै स्वेतामाथि आगो झोसिएको थियो । तर, घटना बाहिरिने डरले उनका श्रीमान्ले घरमै थुनेर राखेका थिए । स्वेताको माइत भारत विहार राज्यको दरभंगा जिल्लामा पर्ने कोठिया हो । काम विशेषले उनका बुबा जयकुमार झा आएपछि बल्ल छोरीलाई आगो लगाएर मार्ने प्रयास भएको घटना थाहा पाएपछि सबै कुरा बाहिरियो ।
उनले छोरी स्वेतालाई तत्कालै उपचारका लागि दरभंगा लगे । त्यहाँ उपचार गराएपछि घटनामा संलग्नहरूमाथि कारबाहीका लागि जनकपुरधाम फर्किए । स्वेताका बुवा भन्छन्, ‘छोरीलाई मार्ने प्रयास गर्नेहरूलाई कारबाहीका लागि वकिलहरूसँग सल्लाह गर्दा यहाँको अस्पतालमा उपचार गराउन भनेअनुसार जानकी हेल्थ केयरमा भर्ना गरेँ । तर, पछि सरकारी अस्पतालमा उपचार गराउनुपर्ने सल्लाह दिएपछि प्रादेशिक अस्पतालमा लग्यौं ।’
स्वेता र राजीवबीच १० वर्ष अगाडि सामाजिक परम्पराअनुसार विवाह भएको थियो । विवाहलगत्तै राजीव वैदेशिक रोजगारका लागि विदेश गएपछि स्वेता ५ वर्षसम्म माइतमै बसेकी थिइन् । अस्पतालको बेडमा छट्पटाइरहेकी स्वेता भन्छिन्, ‘उहाँ विदेश गएपछि म माइतमै बसे । एक रूपैयाँ कहिल्यै दिएनन् । सबै खर्च मेरो बुबाले नै तिर्नुहुन्थ्यो । श्रीमान विदेशबाट फर्केपछि तीन तोला चाँदीका लागि पटक-पटक यातना दिए ।’
नेपालमा भएका नातेदारले नै ‘केटा राम्रो छ’ भनेपछि उनी बिहे गर्न राजी भएकी थिइन् । माइतीले २ लाख ५० हजार भारतीय रुपैयाँ दाइजो दिएका थिए । तर, राजीवको परिवारले तीन तोला सुनको माग राख्यो । त्यत्ति बेला त श्वेताका बुवाले बिस्तारै सुन दिने भनी कुरा टारे । तर, उनले माग पूरा गर्न सकेनन् । र, श्वेतामाथि घरमा यातना सुरु भयो ।
‘बिहे भएको एक वर्षदेखिनै छोरीलाई विभिन्न बहानामा कुटपिट हुन्थ्यो’, बुवा जयनारायण झाले भने, ‘एक महिनाअघि पनि श्रीमान्ले पेटमा बेस्सरी लात्ती हिर्काउँदा उसलाई अत्यधिक रक्तस्रावको समस्या भएको थियो । त्यो बेला पनि मैले यहाँ आएर घर परिवारमा पञ्चायतै बसाएर सामाजिक रूपमा दबाब दिलाई अवस्था मिलाउन खोजेको थिए । तर, उनीहरू यस्तो अमानवीय काम गर्छन् भन्ने थिएन ।’
राजीव र श्वेताका ९ वर्षका छोरा र ७ वर्षकी छोरी छन् । छोराछोरीलाई समेत कुटपिट गरेपछि माइत पठाएको स्वेताले बताइन् । उनी भन्छिन्, ‘मलाई मार्न खोज्नेहरूमाथि काराबाही हुनुपर्छ । छोराछोरीले हक पाउनुपर्छ ।’























