एसीसी प्रिमियर कप : भारत र पाकिस्तानसँग खेल्ने नेपालको सपना


काठमाडौँ । कप्तान रोहित पौडेलले सोमबार एसीसी प्रिमियर कप जित्दै एसिया कपमा खेल्ने नेपालको लक्ष्य रहेको बताएका छन् । वास्तवमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने लागेयता नै भारत, पाकिस्तानजस्ता राष्ट्रसँग खेल्ने सपना नेपालले देख्दै आएको थियो । जुन सपना प्रिमियर कपमार्फत नेपालले पूरा गर्न सक्छ ।नेपालको त्यही सपना प्रिमियर कपमा अड्किएको छ । रोहितले भनेजस्तै नेपालको एसिया कपमा खेल्ने लक्ष्यअघि प्रिमियर कप रहेको छ । कीर्तिपुर र मूलपानी मैदानमा मंगलबार सुरु हुने १० राष्ट्रसम्मिलित प्रिमियर कप विजेताले सेप्टेम्बरमा एसिया कप खेल्न पाउने छ ।
संयोगले यसपालि प्रिमियर कप विजेताले एसिया कपमा भारत र पाकिस्तानको समूहमा रहेर खेल्न पाउने छ । त्यस अर्थमा नेपालको भारत र पाकिस्तानसँग खेल्ने सपना प्रिमियर कपले पूरा गर्न सक्छ । नेपाल सन् २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त राष्ट्र भए पनि भारत र पाकिस्तानसँगको दुरी निकै लामो छ । जसका कारण नेपालले यी दुई छिमेकी राष्ट्रसँग एकदिवसीय अन्तर्राष्ट्रिय होस् वा ट्वान्टी–२० अन्तर्राष्ट्रियमा अझै खेल्न पाएको छैन ।
नेपालले भारत र पाकिस्तानजस्ता विश्व क्रिकेटका ‘पावर–हाउस’ सँग खेल्न पाउने सम्भावनामा सहजैसँग जोड्ने बाटो हो एसीसी प्रिमियर कप । ‘एसिया कप खेल्ने हाम्रो सपना हो, हामीले अहिलेसम्म भारत, पाकिस्तान जस्ता ठूलो राष्ट्रसँग खेलेका छैनौं,’ कप्तान रोहितले भने, ‘यी टोलीसँग खेल्ने हामीसँग निकै राम्रो अवसर छ । उनीहरूसँग खेल्न पायौं भने एक्सपोजर राम्रो पाइन्छ । तर अहिले हाम्रा लागि मुख्य प्रतियोगिता एसीसी प्रिमियर हो ।’
विश्वकप लिग २ मा नेपालले गत दुई महिनामा खेलेको १२ मध्ये ११ खेल जितेर विश्वकप छनोटमा पुगेको थियो । त्यसमध्ये घरेलु मैदानमा खेलेका सबै ८ खेल जितेकाले पनि नेपाललाई प्रिमियर कपको बलियो दाबेदारका रूपमा हेरिएको छ । तर, नेपालसँगै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त ओमान र यूएई पनि एसिया कपमा पुग्नका लागि बलियो चुनौती दिने हकदार टोली हुन् ।
ओमान र नेपाल एकै समूहमा छन् । नेपाली टोलीमाथि जुन अपेक्षा गरिएको छ त्यसअनुरुप अगाडि बढेमा यूएई सेमिफाइनल वा फाइनलको प्रतिद्वन्द्वी बन्न सक्छ । हङकङ, सिंगापुर, मलेसिया पनि अनुमान गरिएको नतिजा उल्टाउन सक्ने हैसियत बोकेका टोली हुन् । नेपालले मंगलबार मलेसियासँग त्रिवि क्रिकेट मैदानमा खेलेर प्रिमियर लिगको सुरु गर्दै छ । मूलपानी मैदानमा हङकङ र सिंगापुर आमनेसामने हुनेछन् । नेपाललाई कम्तीमा सेमिफाइनलसम्म यात्रा खासै कठिन नहोला । रोहित भन्छन्, ‘जुन हिसाबमा हामीले एउटा टिम बनेर खेलिरहेका छौं, हाम्रो सम्भावना एकदमै राम्रो छ । हामीले एउटा स्तर बनाएका छौं, त्यसलाई निरन्तरता दिनुपर्छ । त्यो स्तरअनुरुप खेल्यौं भने हामी यो प्रतियोगिता जित्न सक्छौं ।’
पछिल्लो दुई महिनामा नेपालले जसरी खेल्यो त्यही कारण नेपालबाट धेरै अपेक्षा गरिएको प्रशिक्षक मोन्टी देसाई स्वीकार्छन् । ‘टिमले राम्रो खेल्दै आएको समयमा आफूअनुकूल नतिजा आशा गर्नु स्वभाविक नै हो । विशेष गरी हामी घरेलु मैदानमै खेलिरहेका छौं,’ देसाईले भने, ‘नेपाली टोलीमाथि गरिएको अपेक्षा व्यवस्थापन गर्नु महत्त्वपूर्ण हुन्छ । पछिल्ला नतिजाहरूले हामीलाई अझ गहन जिम्मेवारी दिएको छ । मिमिनेत, सही दिमाग लगाएर खेल्नु मैले राखेको अपेक्षा हुन् ।’ मलेसियाबारेमा आफूलाई केही थाहा नभएकाले त्यो टोलीबारे केही भन्नु उचित नहुने देसाई बताउँछन् । रोहित पहिलो खेलमा राम्रो सुरुआत गर्न जरुरी रहेको आवश्यकता देख्छन् । नियमित प्रतिद्वन्द्वी मलेसियाले नेपाललाई खासै चुनौती दिन सकेको छैन । नेपालले मलेसियासँग ५० ओभरमा खेलेका पछिल्ला ५ खेलमै विजय हात पारेको छ । तर मलेसियाका प्रमुख ब्याटर वीरनदीप सिंह नेपालमा आएर नियमित खेल्दै राम्रो प्रदर्शन दिइरहेकाले घरेलु टोली त्यसमा सचेत छ ।
प्रिमियर कपलाई लिएर आत्मविश्वासी देखिएका रोहित भन्छन्, ‘हामी पूर्ण तयारीसाथ खेलिरहेका छौं । घरेलु मैदानको फाइदा पनि छ । गत वर्ष जति पनि सफलता पायौं त्यसलाई बिर्सेर अब नयाँ अध्यायको सुरुआत गर्नुपर्छ । हामीसँग ठूलो आस गरिएको छ । सबैले आफूले पाएको जिम्मेवारी लिएर खेल्न जरुरी छ ।’
कीर्तिपुर मैदानमा सोमबार फिल्डिङका क्रममा करण केसीले थ्रो गरेपछि देसाई भन्दैथिए, ‘हात खोलो ।’ सन् १९९६ मा सुरु भएको एसीसी ट्रफीदेखि नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै आएको छ । प्रिमियर कपअघिको प्रतियोगिता हो एसीसी ट्रफी । तर नेपालले एसीसी ट्रफीबाट कहिल्यै एसिया कपमा पुग्न सकेन । एसिया कप खेल्ने सपना पूरा गर्न यसपटक नेपालसामु हात राम्रैसँग खोल्ने उपयुक्त अवसर आएको छ ।























