एसीसी प्रिमियर कपका लागि सजिँदै कीर्तिपुर मैदान

नवलपुर टुडे


काठमाडौं । वैशाख ५ गतेबाट सुरु हुने एसीसी प्रिमियर लिगका लागि नेपाल क्रिकेट संघ (क्यान)ले त्रिवि क्रिकेट मैदान, कीर्तिपुरको मर्मत कार्य तीव्र रुपले अघि बढाएको छ ।
नेपालको एकमात्र अन्तर्राष्ट्रिय भेन्यूका रुपमा प्रयोग हुँदै आएको कीर्तिपुर मैदानमा मैदानबाहिरका अधिकांश पूर्वाधारलाई सम्भव भएसम्म अन्तर्राष्ट्रियस्तरको बनाइँदैछ ।
क्यानले यो प्रतियोगिताका खेलहरु कीर्तिपुर र मूलपानी मैदानमा खेलाउनेछ । दुवै मैदानको तयारी अन्तिम चरणमा पुगेको क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहले बताए ।
त्रिविमा मैदान र पीचको स्तरोन्नत्तिका साथसाथै रंगशाला क्षेत्रमा सरसफाइ, तारजाली मर्मत, पर्खाल र गेट निर्माणदेखि सजावट तथा विभिन्न कक्षहरु व्यवस्थापनको काम भइरहेको छ ।
मैदानको बाहिरको पर्खालदेखि फाटेका जालीहरु निमार्ण गर्ने काम भइरहेको छ । भेन्यू तयारीको जिम्मेवारी पाएका क्यान कोषाध्यक्ष सिंहले कीर्तिपुर मैदानको स्तरोन्नतिका लागि १० देखि १२ लाख रुपैयाँ खर्च लाग्ने बताएका छन् ।
‘अहिलेसम्म पनि यति नै खर्च भन्ने निश्चित भइसकेको छैन । तर, कीर्तिपुर मैदानमा ठूलो खर्च हुने काम धेरै छैन । १० देखि १२ लाखमा यो मैदान तयार हुन्छ,’ उनले भने ।
हाल कीर्तिपुर मैदानमा बाहिरका भित्ता रङ्गाउनेदेखि पीच तयारसम्मको कार्य भइरहेको छ ।
दर्शक बस्ने चौरलाई छेकिएको पर्खाल पछिल्लो पटक भएको लिग २ को खेलमा दर्शक थेग्न नसक्दा भत्किएको थियो । उक्त क्षेत्रमा पनि अग्लो बनाइ तारबार लगाइएको छ । ‘दर्शक बस्ने चौरमा छिर्ने मुख्य गेट भत्किएको थियो । लिग २ को अन्तिम खेलको दिन दुई समर्थक घाइते पनि भएका थिए । त्यसलाई मर्मत गरेका छौं,’ कोषाध्यक्ष सिंहले भने ।
अन्तर्राष्ट्रिय मान्यताअनुसारको ड्रेसिङ रुम
अन्तर्राष्ट्रिय खेल सञ्चालन भए पनि कीर्तिपुर मैदानको डगआउट र ड्रेसिङ रुम फर्निसिङ पूरा भएको थिएन । हाल ड्रेसिङ रुममा १५ वटा किट र्याक, १५ सेट खेलाडीलाई हुने गरी ड्रेसिङ दराज तयार गरिएको छ ।
‘मैले दुबई र श्रीलंकामा अन्तर्राष्ट्रिय ड्रेसिङ रुम देखेर आएको छु । सोही अनुसार यहाँ पनि हामीले बनाउने काम लगभग सक्न लागेका छौं,’ कोषाध्यक्ष सिंहले भने ।
क्यानले जस्मिन पेन्टससँग अफिसियल पेन्टस् साझेदारका रुपमा सम्झौता गरेको छ । रंगरोगनको सबै काम जस्मिनले नै गर्नेछ । क्यानले आफूसँग भएका केहि सामानहरु प्रयोग गरी प्रतियोगिताका लागि तयार पारेको छ ।
यस प्रतियोगिता भेन्यू निर्माणमा हुने अधिकांश खर्च एसियन क्रिकेट काउन्सिल (एसीसी)बाटै आउनेछ । ‘खर्चको एकीन रुपमा भन्न सकिँदैन । एसीसीमा हामीले बनाएर पठाएको खर्चको स्वरुप अनुसार नै खर्च आउनेछ । यहाँ भएका लगभग खर्च एसीसीकै मातहतमा हुनेछ ।’
यसबाहेक मूलपानी मैदानमा कागेश्वरी मनोहरा नगरपालिका र स्थानीयले पनि सहयोग गरेका कारण खर्च कम तथा चाँडै काम सक्नका लागि सहयोग पुगेको कोषाध्यक्ष सिंहले बताए ।
‘मूलपानीमा गरेको कार्यमा नगरपालिकाले पनि धेरै सहयोग गरेको छ । उहाँहरुको साथले हामीलाई पनि काम गर्न निकै जोस आएको छ,’ उनले भने ।
त्रिविमा ३ वटा पीच तयार
त्रिवि मैदानमा ८ वटा पीच छन् । आसन्न प्रतियोगिताका लागि त्रिविमा ३ वटा पीच तयार गरिएको त्रिविका क्युरेटर मधु तामाङले जानकारी दिए ।
‘हामीसँग भएको ८ वटा मध्ये ३ वटा पिच प्रतियोगिताका लागि तयार गरेका छौं,’ उनले भने, ‘तीनैवटा पीच ब्याटिङलाई सहयोग पुग्ने खालको छ ।’
पीचको स्तरोन्नति र अन्य कामका लागि ग्राउण्ड स्टाफहरु खटिएका छन् । सिनियरदेखि जुनियर टिमसम्मको बन्द प्रशिक्षणस्थल पनि भएकाले स्वतन्त्रसँग काम गर्न कठिन भएको उनले बताए ।
त्रिवि मैदानमा हाल एसीसी कपका लागि बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म खेलाडीहरुले दुई वटा सेसनमा तयारी गरिरहेका छन् । यसको बावजुत पनि पीच निर्माणका लागि उनीहरु बिहान खेलाडी आउनुअघि र बेलुकासम्म पनि बसेर पिचलाई समय दिइरहेको क्युरेटर तामाङले बताए । ‘हामी बिहान ७ देखि ९ सम्म तयार गर्छौं । छेउछाउमा नेट राखेर भए पनि बन्द प्रशिक्षणका बेला पनि तयारी गरिरहेका छौं,’ उनले थपे ।
अनुभवी क्युरेटर उनीले २० वर्षभन्दा बढी समयदेखि मैदान व्यवस्थापनमा काम गरिरहेका छन् । पिच क्युरेटर भएर उनले २०७२ सालदेखि काम गरेका हुन् । उनले हाल पिच निमार्णका लागि भएको उपकरणहरुकै सहयोगमा मैदान तयार गरीरहेको बताए । ‘हामीसँग भएकै उपकरणहरुले पिच बनाइ रहेका छौं । अब थप उपकरण आए सहयोग हुनेछ’, उनले भने । अनलाईन खबरमा समाचार छ ।

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी


तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ
अरुपनि पढ्नुहोस
सबै
आजको विदेशी मुद्राको विनिमय दर

गोली हान्न लगाएर उपचारको प्रचारबाजी गर्न लाज लाग्दैन ? भन्दै युवा नेता दुबेको कडा टिप्पणी

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा
















