खेलकुद

लुम्बिनी म्याराथनको उपाधि दिपक अधिकारी र राजपुरा पछाईलाई

नवलपुर टुडे
२०७९ चैत्र २३ | मध्यान्ह ०२:१२ बजे

बुटवल । लुम्बिनी पिस हाफ् म्याराथन प्रतियोगितामा दीपक अधिकारी र राजपुरा पछाइले प्रथम स्थान हासिल गरेका छन् ।

आज अन्तर्र्राष्ट्रिय खेलकूद दिवसको अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीले आयोजना गरेको (२१ किलोमिटरको दूरी) प्रतियोगितमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका अधिकारीले १ घन्टा ६ मिनेट २ सेकेन्डमा पूरा गरेका थिए । प्रथम स्थान हासिल गरेसँगै उनले १ लाख ५० हजार रुपैयाँ नगद पाएका छन् । यस्तै महिलातर्फ नेपाल प्रहरीका पछाइले १ घन्टा २४ मिनेट २ सेकेन्डमा सो दूरी पूरा गरेकी छन् । उनले पनि १ लाख ५१ हजार रुपैयाँ नगद शिल्ड तथा प्रमाणपत्र प्राप्त गरेकी छन् । 

देशभरका २ हजार ५ सय खेलाडी सहभागी सो प्रतियोगितामा पुरुषतर्फ एपिएफका गोपीचन्द्र पारखी १ घण्टा ६ मिनेट ४६ सेकेन्डमा दूरी पूरा गर्दै द्वितीय भएको एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए । यस्तै त्रिभुवन आर्मी क्लबका मुकेश पाल तृतीय भएका छन्  । पालले १ घन्टा ७ मिनेट १५ सेकेन्डमा सो दूरी पार गरेका हुन् ।

त्यस्तै त्रिभुवन आर्मीकै नरेन्द्र रावलले चौथो स्थान हासिल गरेका छन् । उनले १ घन्टा ७ मिनेट १५ सेकेन्डमा उक्त दुरी पार गरेका थिए । यता महिलातर्फ एपीएफका विन्द्रा धान्के द्वितीय भएकी छन् । श्रेष्ठले १ घण्टा २६ मिनेट ७ सेकेन्डमा सो दूरी पार गरेकी थिइन् । नेपाल प्रहरीका रेखा विष्ट  तेश्रो भइन्  । उनले १ घन्टा २६ मिनेट ११ सेकेन्डमा सो दूरी पार गरिन् । 

त्रिभुवन आर्मी क्लबकी पूर्णलक्ष्मीले चौथो स्थान हासिल गरेकी छन् । उनले १ घन्टा २८ मिनेट ३३ सेकेन्डमा सो दूरी पार गरेकी थिइन् । दुवै विधामा द्वितीयले ७५ हजार र तृतीयले ५० हजार र तृतीयले ३० हजार रुपैयाँ नगद पुरस्कार पाएका छन् ।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जन्मस्थलमा रहेको शान्ति दीपमा मसाल बालेर सो कार्यक्रमको उद्घाटन गरेका थिए । 

कमेन्टहरु