यूएईलाई हराउँदै विश्वकपको ग्लोबल छनोटमा पुग्यो नेपाल

नवलपुर टुडे
२०७९ चैत्र २ | मध्यान्ह ०६:१२ बजे

काठमाडौं, चैत २ । आईसीसी विश्वकप क्रिकेट लिग २ को त्रिकोणात्मक एकदिवसीय शृंखलाको अन्तिम खेलमा यूएईलाई पराजित गर्दै नेपाल एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा पुगेको छ ।
नेपालले यूएईलाई डकवर्थ लेविस (डीएल) मेथडमा पराजित गर्दै नेपाल एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा पुगेको हो । खराब प्रकाशका कारण ४४ ओभरमा रोकिएको खेलमा नेपालले डीएल मेथडमा पाएको दुई सय ६७ रनको लक्ष्यभन्दा दुई रन धेरै बनाएको थियो । डीएल मेथडमा नेपालले ९ रनको जित निकाल्दै जिम्बाब्वे यात्रा तय गर्यो ।
विश्वकपको ग्लोबल छनोटमा नेपालसँगै स्कटल्यान्ड र ओमान यसअघि नै छनोट भइसकेका छन् । ग्लोबल छनोटमा नेपालले जिम्बाब्वे, नेदरल्यान्ड्स, ओमान र स्कटल्यान्डसँग खेल्ने निश्चित छ भने बाँकी पाँच टिमको टुङ्गो लाग्न बाँकी छ ।























