चौथो शुद्धोधन गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आज देखि सुरु


इमरान हुसेन
कपिलवस्तु, माघ ७ । जिल्ला कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा चौथो शुद्धोधन राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आइतबारदेखि सुरुवात भएको छ ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ जिल्लाको शुद्धोधन गाउँपालिकामा पालिकास्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु भएको हो ।
खेल वडा नम्बर २ को वरगदहवाको खेलमैदानमा सुरू भएको छ । खेलको शुभरम्भ कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ को ख प्रदेश सभा सदस्य मधुसूदन शरण चौधरीले उद्वघाटन गरेका हुन् । चौधरीले पालिकास्तरमा आयोजना हुने यस्ता खेलले खेलाडी पहिचान र राष्ट्रिय एवम अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा टेवा पुर्याउने बताए । खेलले खेलाडी उत्पादनमा मात्र नभई शारीरिक स्वास्थ्यका लागि पनि महत्वपूर्ण भूमिका खेल्ने बताउँदै । कार्यक्रममा विद्यार्थी खेलाडीहरूलाई अग्रिम बिजयीको शुभकामना व्यक्त गरे ।
शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरी र पालिकाका सबै वडाअध्यक्षले बोल्दै खेलकुदमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई शुभकामना दिंदै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले जिल्लास्तरीय खेलकुद प्रतियोगितामा विद्यार्थीहरुलाई सहभागी हुन मद्दत पुग्ने बताए ।
कार्यक्रममा खेल संयोजक लालचन्द्र पाण्डेयले खेलकुद विद्यार्थीहरुको लागि अपरिहार्य रहेको बताउँदै कार्यक्रमको सफलताको शुभकामना दिए । शिक्षा शाखा प्रमुख धनी प्रसाद शर्मा लगायतले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले बिद्यार्थीको खेलकुद विकासलाई सकारात्मक टेवा पुग्ने बताए ।
























