पाल्पाको तीन पालिकामामा राष्ट्रपति रनिङसिल्ड सम्पन्न


पाल्पा । पाल्पाको मााथागढी, रिब्दीकोट र रैनादेवी छहरामा राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता सम्पन्न भएको छ । माथागढी गाउँपालिकमा भएको राष्ट्रपति रनिङ सिल्डको उपाधि दिव्यज्योति मावि कसेनी सराईले जितेको छ ।
दिव्यज्योतिले ११ स्वर्ण, ४ रजत र ४ कांस्यसहित कुल १९ पदकसहित पहिलो भएको हो । सौभाग्य मावि चिदीपानीले ९ स्वर्ण, ७ रजत र ६ कांस्यसहित दोस्रो भएको छ भने माउन्ट भ्याली बोर्डिङ स्कुल कसेनी सराईले ३ स्वर्ण, ४ रजत र ३ कांस्यका साथ तेस्रो भएको छ । किसान मावि झडेवाको खेलमैदानमा भएको प्रतियोगितामा गाउँपालिकाभित्रका १३ वटा विद्यालयहरुले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा बिजेता र उपविजेताहरुलाई माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदी, शिक्षा शाखा प्रमुख प्रेमबहादुर बारघरे, माथागढीका वडाध्यक्ष शंकर दर्लामीलगायतले पुरस्कार, मेडल र प्रमाणपत्र वितरण गरे ।
त्यस्तै रिब्दीकोट गाउँपालिकामा भएको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि आदर्श मावि देउरालीले हात पारेको छ । प्रतियोगितामा रिब्दिकोट गाउँपालिकाका १३ वटा माध्यमिक विद्यालयले भाग लिएका थिए । प्रतियोगितामा देउरालीले ७ स्वर्ण, ९ रजत, २ कांस्य गरी १८ पदक सहित उपाधि पोल्टामा पारेको हो । फेकस्थित ताल्तुङ माध्यमिक विद्यालय पेलाचौरले ४ स्वर्ण, १ रजत, १ कांस्यसहित दोस्रो स्थान हासिल गरेको छ । सरस्वती माध्यमिक विद्यालय खस्यौलीले ४ स्वर्ण, १ कांस्य जित्दै तेस्रो स्थान हासिल गरेको छ । आदर्श माध्यमिक विद्यालय देउराली लघुवाले २ स्वर्ण, ३ रजत, ३ कांस्य जितेर चौथो भएको छ ।
छात्रातर्फ फेक ताल्तुङ्ग माध्यमिक विद्यालयका दिलमाया बगाले र छात्रतर्फ भवानी मावि कुसुमखोलाका योगेश बुचा उत्कृष्ट खेलाडी घोषित भएको वडा नम्बर ५ का अध्यक्ष मनबहादुर अस्लामी मगरले बताए । विजयी खेलाडीहरुलाई लुम्बिनी प्रदेश सरकारका सभामुख तुलाराम घर्तिमगर, गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्की, वडाध्यक्ष ओमप्रसाद पोखरेल, शिक्षा शाखा प्रमुख मणिराम खनालले पुरस्कार तथा प्रमाणपत्र र सिल्ड प्रदान गरे ।























