केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसीपको तालिका सार्वजनिक


काठमाडौं, माघ २९ । केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसीपको तालिका सार्वजनिक गरिएको छ । आयोजक राष्ट्रिय युवा संघ नेपालले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै च्याम्पियनसीपको तालिका सार्वजनिक गरेको हो ।
तालिकाअनुसार च्याम्पियनसीपको पहिलो खेलमा नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लब भिड्ने छन् । पुलिस र सातदोबाटोबीचको खेल फागुन ११ गते एन्फा कम्प्लेक्समा हुनेछ । खेल दिउँसोको ३ बजेदेखि सुरु हुनेछ । प्रतियोगिताको फाइनलबाहेक सम्पूर्ण खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले जनकारी दिए । यस्तै फाइनल खेल दशरथ रंगशालामा हुने उनले बताए ।
प्रतियोगिता फागुन ११ गतेबाट १७ गतेसम्म हुनेछ । प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ । ‘ए’ डिभिजनका मछिन्द्र फुटबल क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, न्युरोड टीम एनआरटी, चर्च ब्वाइज युनाईटेड क्लब, सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लब छन् भने एक आयोजक टोली केपी ओली फुटबल क्लब रहेको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।























