फागुन ११ गतेदेखि ‘केपी ओली कप’ सुरु हुने, विजेतालाई १० लाख पुरस्कार


काठमाडौं, माघ १३ । राष्ट्रिय युवा संघको आयोजनामा यही फागुन ११ गतेदेखि ‘केपी ओली कप’ सुरु हुने भएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्चमा शुक्रबार आयोजित पत्रकार सम्मलेनमा संघका अध्यक्ष किरण पौडेलले पछिल्लो समय प्रमुख समस्याको रुपमा देखापरेको खेलाडी पलायन रोक्न र फुटबल खेलेरै बाँच्न पाउने अवस्था बनाउन सहयोग गर्न प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए ।
केपी ओली पार्टीको अध्यक्ष पनि भएको र उनको लिगेसी खेलकुदमा ढाल्न पनि प्रतियोगिता आयोजना गर्न लागिएको उनले बताए । प्रतियोगिताको प्रायोजक हालसम्म कोही नभएको तर छिट्टै व्यावसायिक घराना जोडिनेमा संघका अध्यक्ष पौडेलले आशा व्यक्त गरे ।
केपी ओली कप प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले पनि स्वीकृति दिइसकेको छ । प्रतियोगिताको विजेतालाई १० लाख, उपविजेतालाई पाँच लाख, सर्वोत्कृष्ट खेलाडीलाई एक लाख तथा उदीयमान खेलाडीलाई ५० हजार नगद पुरस्कार प्रदान गरिने पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रतियोगिताको उद्घाटन खेल च्यासलमा र बाँकी खेल एन्फा कम्प्लेक्समा हुने एन्फाका उपाध्यक्ष दीपक खतिवडाले जानकारी दिए । प्रतियोगिताको फाइनल भने दशरथ रंगशालामा हुने छ ।























