खेलकुद

जनकपुरलाई हराउँदै लुम्बिनी अल स्टार्स नेपाल टि–२० लीग फाइनलमा प्रवेश

नवलपुर टुडे
२०७९ पुस २४ | मध्यान्ह ०७:०९ बजे

काठमाडौँ, पुस २४ । लीग चरणका खेलहरुमा सनसन्नी मच्चाएको लुम्बिनी अल स्टार्स काठमाडौँमा जारी नेपाल टि–२० लीगको फाइनलमा प्रवेश गरेको छ ।

आज दिउँसो टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो क्वालिफायरर्स खेलमा जनकपुर रोयल्सलाई ६ रनले पराजित गर्दै लुम्बिनी अल स्टार्स फाइनल पुगेको हो । टस हारेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४३ रनको योगफल खडा गरेको थियो ।

जवाफमा जनकपुरले २० ओभरमा ७ विकेट गुमाएर १३७ रनमात्र जोड्न सक्यो । जनकपुरलाई अन्तिम ओभरमा जितका लागि १० रन आवश्यक छदा लुम्बिनीका किशोर महतोले महत्वपूर्ण बलिङ गरे । उनले अन्तिम ओभरको पहिलो बलमा सोमपाल कामीले १ रन लिए । विष्फोटक ब्याटिङ गरिरहेका पवन सर्राफले त्यसपछिका तीन बलमा रन लिन सकेनन् । पाँचौं बलमा २ रन लिएका उनले अन्तिम बलमा पनि रन बनाउन सकेनन् । पवन १९ बलमा २ चौका र २ छक्कासहित ३० रनमा अविजित रहे पनि टिमलाई जिताउन सकेनन् ।

जनकपुरका लागि सामीउल्लाह सेनवारीले सर्वाधिक ४५ रन बनाए । उनले ३१ बल खेल्दै २ चौका र ३ छक्का प्रहार गरे । ओपनर सराफउद्धिन अश्रफले १९ बलमा २४ रन बनाए । कप्तान ट्रेभोन ग्रिफिफ्तले १० रन जोडे ।

बलिङमा लुम्बिनीका दीपेन्द्रसिंह ऐरी, विपुल शर्मा र सागर ढकालले समान २–२ विकेट लिए । यसअघि लुम्बिनीका लागि इशान पाण्डेले सर्वाधिक ३८ रन बनाएका थिए । ओपनर हर्मीत सिंह पहिलो बलमै आउट हुँदा लाहिरु मिलान्थाले १६ रन जोडे । कप्तान दिपेन्द्रसिंह ऐरी १०, अनिल शाह २४ र विपुल शर्मा २० रनमा आउट हँदा सेड्ली भान स्केल्कवेकले १७ रन योगदान गरे ।

बलिङमा जनकपुरका अशन प्रियन्जन, सोमपाल कामी र जितेन्द्र मुखियाले २/२ विकेट लिँदा कप्तान ट्रेभोन ग्रिफिफ्त र पवन शर्राफले ११ विकेट लिए ।

जनकपुरले सोमबार हुने विराटनगर सुपर किङ्स र काठमाडौं नाइट्सबीचको विजेतासँग दोस्रो क्वालिफायरमा मंगलबार खेल्नेछ ।

कमेन्टहरु