धानका बालामा चामलभन्दा भुस धेरै, खाद्यान्न सङ्कट पर्ने किसानलाई चिन्ता

नवलपुर टुडे


मलेखु, कात्तिक २२ । यतिबेला सबैतिर धान काट्ने चटारो छ । पाकेको धान भित्र्याउने र अर्को बाली लगाउनका लागि माटो तयार गर्न किसानलाई भ्याइनभ्याइ छ । तर, धान काट्ने बेला धादिङ नीलकण्ठ नगरपालिकाका किसान भने चिन्तामा छन् । धानको बालामा भुस मात्रै फलेपछि धादिङ नीलकण्ठका किसान चिन्तित बनेका हुन् ।
झट्ट हेर्दा झपक्कै धान फलेको जस्तो देखिए पनि बालामा चामल नफलेको किसानहरुको भनाइ छ । नीलकण्ठ नगरपालिका-७ को हाँडीखोला आसपासका करिब ६५ रोपनी पाखा खेतमा लगाएको धान बिग्रिएको स्थानीय किसान विष्णुलाल श्रेष्ठले बताउनुभयो । नीलकण्ठ नगरपालिका कृषि शाखाबाट अनुदानमा लिएको सावित्री र सुख्खा-२ जातको धानमा चामलको खाना नलागेको हो ।
अहिले धान झुल्ने बेला आधाभन्दा धेरै बालामा चामल नफलेपछि किसानलाई खाद्यान्न सङ्कट पर्ने चिन्ताले सताउन थालेको छ । “फूल खेल्ने बेलासम्म बोट राम्रै थियो, धान राम्रो फल्नेमा ढुक्क थियौंँ,” श्रेष्ठले भन्नुभयो, “तर, अब वर्षभरी खान पनि नपाइएलाकी भन्ने डर भयो ।” धान उत्पादन कम हुने भएपछि किसानहरुले क्षतिपूर्ति अथवा राहतको अपेक्षा गरेका छन् ।
६ महिना दुःख गरेर लगाएको धानमा चामलको साटो भुस फल्दा परिवार धान्न गाह्रो पर्ने चिन्ता किसानलाई छ । बालामा चामल नफलेकोबारे धान झुल्ने बेला मात्रै थाहा पाएको किसानको भनाइ छ । २० प्रतिशत पनि उत्पादन लिन नपाउने अवस्था सिर्जना भएको किसान इन्द्रबहादुर श्रेष्ठले बताउनुभयो । कृषि प्राविधिकहरुले भने प्राविधिक कमजोरीकै कारण धानमा रोग लागेको बताएका छन् ।
धान पाक्ने बेला मात्रै रोग देखिएकोले उपचारसमेत सम्भव नभएको कृषि प्राविधिकको भनाइ छ । यो रोगबाट बाली बचाउन सुरुदेखि नै माटोको उपचार गर्नुपर्ने नीलकण्ठ नगरपालिकाका कृषि शाखा अधिकृत समुद्र श्रेष्ठले बताउनुभयो । रासस

तिहार पर्व आजदेखि सुरु, मिथिलामा धनतेरस

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी


तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

जिल्ला अस्पताललाई भवन हस्तान्तरण, तिहारपछि सेवा शुभारम्भ
अरुपनि पढ्नुहोस
सबै
आजको विदेशी मुद्राको विनिमय दर

गोली हान्न लगाएर उपचारको प्रचारबाजी गर्न लाज लाग्दैन ? भन्दै युवा नेता दुबेको कडा टिप्पणी

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा
















