पर्सागढी नगरपालिकामा अव्यवस्थित बसोबासको समस्या समाधान गर्न प्रधानमन्त्री प्रतिबद्ध


वीरगञ्ज २१ साउन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजय कुमार चौरासियाको अगुवाईमा पर्साको पर्सागढी नगरपालिकामा विद्यमान जग्गा सम्बन्धी समस्या समाधान हुने भएको छ ।
पर्सागढी नगरपालिकाको वडा नं ३ र ४ का विभिन्न बस्तीमा लामो समयदेखि बसोबास गरिरहेकाहरू आफ्नै नाममा जग्गा नहुँदा समस्यामा छन् । प्रधानमन्त्री शेर बहादुर देउवा उनीहरूलाई कानुनी व्यवस्था अनुसार जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढाउन सकारात्मक रहनु भएको कांग्रेस केन्द्रीय सदस्य चौरासियाले जानकारी दिएका हुन् ।
पर्सागढीको जग्गासम्बन्धी समस्या लिएर शनिबार प्रधानमन्त्री देउवासँग छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका चौरसियाले भने -‘हामीले प्रधानमन्त्री ज्यूलाई भेटेर पर्सागढीको झबराहा, बडनिहार, औरैया, सबैया लगायतका ठाउँमा लामो समयदेखि ऐलानी र गुठीको जग्गामा बसोबास गरिरहेकाहरूको नाममा जग्गा नहुँदा भोग्नु परेको समस्याबारे अवगत गरायौं, जवाफमा प्रधानमन्त्री ज्यूले आफू यो समस्याप्रति गम्भीर रहेको र समाधानका लागि सम्बन्धित निकायलाई निर्देशन दिने प्रतिबद्धता जनाउनुुभयो ।’
प्रधानमन्त्री देउवाले नै कानुनी व्यवस्थाअनुसार जग्गा दर्ता प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जनाएकाले पर्सागढीको अव्यवस्थित बसोबासको समस्या चाँडै समाधान हुनेमा आफूहरू विश्वस्त रहेको चौरासियाको भनाइ छ ।
काँग्रेस केन्द्रीय सदस्य चौरासियाको नेतृत्वमा प्रधानमन्त्री देउवासँग छलफलका लागि पुगेको टोलीमा पर्सागढी नगरपालिकाका पूर्वमेयर लोकनारायण यादव, वडाध्यक्ष सुकमान तामाङ, युवा नेता जीवन तामाङ, विकास श्रेष्ठ र लक्ष्मी लामा लगायत सहभागी थिए ।






















