राजनीति

कमल थापाको नेतृत्वमा नयाँ दल दर्ता गर्ने

जगत ठाडा मगर
२०७८ माघ २७ | मध्यान्ह ०८:१० बजे

काठमाडौ, माघ २७ । कमल थापा नेतृत्वको समूहले नयाँ दल दर्ता गर्ने निर्णय गरेको छ । बिहीबार राजधानीमा बसेको थापा पक्षको बैठकले नयाँ दल दर्ता गर्ने निर्णय गरेको हो ।

दल दर्ताका लागि आवश्यक तयारी गर्न बैठकले थापालाई जिम्मेवारी दिएको छ । कमल थापा निकट नेता राजाराम बर्तौलाले बिहीबार बैठक बसेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने निर्णय भएको बताए । उनले पार्टीको नाम ‘राष्ट्रिय एकता पार्टी नेपाल’ सहित अन्य केही नाम प्रस्ताव भएको र केही दिनमै अन्तिम टुंगो लाग्ने बताए । उक्त दलले हिन्दू राष्ट्रको एजेण्डालाई उठाउने भएको छ ।

पार्टीको नेतृत्व कमल थापाले नै गर्नेछन् भने सुरुवाती चरणमा पदाधिकारीमा उद्धव पौडेल, सुशील श्रेष्ठ, चन्द्र बहादुर गुरुङ, बर्तौलालगायत रहनेछन् । उनीहरु थापाको पक्षमा खुलिसकेका छन् । तर, हाल राप्रपाको पदाधिकारीमा रहेकाहरु भने थापाको पक्षमा खुलिसकेका छैनन् । थापाले मंगलबार गृहजिल्ला हेटौडामा पत्रकार सम्मेलन गरेर पार्टी परित्यागको घोषणा गरेका थिए ।

गत महाधिवेशनमा आफूलाई पराजित गर्न पूर्वराजा ज्ञानेन्द्रले भूमिका खेलेको आरोप लगाउदै थापा राप्रपाबाट बाहिरिएका हुन् ।

कमेन्टहरु