राजनीति

मधेसवादी दलहरु विदेशी शक्तिले बनाइदिएको प्रचण्डको आरोप

जगत ठाडा मगर
२०७८ माघ २७ | मध्यान्ह ०३:१० बजे
 
काठमाडौं, माघ २७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसवादी दलहरू विदेशी शक्तिले बनाइ दिएको आरोप लगाएका छन् । 
 
बिहीबार रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका जनप्रतिनिधिलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले मधेसमा माओवादी स्थापित हुन नदिन शान्ति प्रक्रिया लगत्तै ठुल–ठुला हत्याकाण्डहरू मच्चाइएको बताए । उनले रुपन्देही र कपिलवस्तुमा त्यस्ता हत्याकाण्ड मच्चाइएको भन्दै तिनै हत्याकाण्ड मच्चाएर मधेसवादी पार्टीलाई जन्माइएको बताए । 
 
‘मधेसी जनताको अधिकार स्थापित गर्ने पार्टी माओवादी हो भनेर लहर चल्दै थियो । त्यसलाई रोक्न निकै ठूला षड्यन्त्र भए । राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरबाट पनि मधेस माओवादी भयो भने नेपाल नै माओवादी भयो भन्ने लागेर केही ठाउँमा भयानक हत्याकाण्ड मच्चाइयो’, प्रचण्डले भने, ‘त्यही क्रममा मधेसवादी पार्टी विदेशी शक्तिले बनाइदिए । अर्कैको डिजाइनमा बनेकाहरू मधेसका मसिहा भनिए ।’
 
दाहालले दुई नम्बर प्रदेश, लुम्बिनीलगायत तराईमा फेरि एकचोटी माओवादीमय हुने दाबी गरे । सर्लाही र रौतहटलगायत जिल्लामा पनि माओवादीप्रति आकर्षक देखिएको दाबी गर्दै मधेसमा माओवादी स्थापित हुन लागेको उनको दाबी छ । यो माओवादीलाई सखाप पार्न चाहने प्रतिक्रियावादी, प्रतिक्रान्तिकारी, प्रतिगमनकारीवादीको पराजय र जनताको विजयको सन्देश भएको उनले जिकिर गरे ।

कमेन्टहरु