राजनीति

प्रचण्डलाई शेखरले भने- म चुनावी गठबन्धनको पक्षमा छैन

जगत ठाडा मगर
२०७८ माघ २७ | बिहान ११:१० बजे

काठमाडौं, माघ २७ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्डलाई भेट्न नेता कोइराला आज बिहान खुमलटार पुगेका थिए ।

काँग्रेस नेता अमरेशकुमार सिंहसहित प्रचण्ड निवास खुमलटार पुगेका कोइराला र प्रचण्डबीच एमसीसी, स्थानीय चुनाव लगायतका विषयमा छलफल भएको थियो । भेटमा प्रचण्डले चुनावमा गठबन्धन गरेर जान प्रस्ताव राखेका थिए । तर कोइरालाले आफू चुनावी गठबन्धनको पक्षमा नरहेको बताएका थिए ।

‘गठबन्धन गर्ने भए सरकारमा गरौंला, तर चुनावमा म कुनै हालतमा गठबन्धन गर्दिनँ,’ कोइरालाको भनाइ उद्धृत गर्दै भेटमा सहभागी उनका सहयोगी दिनेश थपलियाले भने । थपलियाका अनुसार प्रचण्डले पटक–पटक चुनावी गठबन्धनको कुरा गरेता पनि कोइरालाले त्यसलाई अस्वीकार गरेका थिए ।

डा. कोइरालाले एमसीसीको विषयमा अलमल नगर्न सुझावसमेत दिएका थिए । स्वीकार गर्ने भए संसदबाट छिटो पास गर्न र अस्वीकार गर्ने भए पनि संसदबाटै गर्नुपर्ने उनको धारणा थियो । कोइरालाले यसअघि मंगलबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि बालकोट पुगेर भेटेका थिए ।

कमेन्टहरु