मधेस प्रदेशमा स्थानीय तहको निर्वाचन असोजमा गर्न लोसपाको माग


काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मधेस प्रदेशमा स्थानीय तहको निर्वाचन असोजमा गर्न माग गरेको छ ।
सरकारले सोमबार मात्रै स्थानीय तहको निर्वाचन ३० वैशाखमा देशभर एकै चरणमा गर्ने निर्णय गरेको छ । तर वैशाखमै निर्वाचन गर्दा मधेश प्रदेशका जनप्रतिनिधिहरुका लागि अधिकार वञ्चित हुने लोसपा मधेस प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले बताएका छन् ।
उनले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘मधेस प्रदेशमा विगतमा भएको स्थानीय तहको निर्वाचनको मिति २०७४ असोज २ गतेलाई दृष्टिगत गरी निर्वाचित पदाधिकारीको पाँच वर्षको पदावधि संविधानको धारा २१५-६, २०१६-६ र २२०-५ अनुसार हुने भएकोमा कुनै निर्वाचित पदाधिकारीको विना कारण एक दिन पनि अधिकारबाट वञ्चित गर्न संविधानको मर्म र भावना विपरीत हुने हुँदा यस सन्दर्भमा नेपाल सरकार, निर्वाचन आयोग, सम्बन्धित पक्ष एवं अन्य सरोकारवाला समेतको ध्यान आकृष्ट गर्न चाहन्छौं।’























