किसानको माग सम्बोधन नभए स्थानीय निर्वाचन अवरोध गर्ने सीके राउतको चेतावनी


वीरगन्ज, माघ २६ । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले किसान आन्दोलनको माग सम्बोधन नभए स्थानीय निर्वाचनमा अवरोध गर्ने चेतावनी दिएका छन् । बुधबार वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले किसान आन्दोलनको माग सम्बोधन नभई स्थानीय तह निर्वाचनको परिकल्पना गर्न नसकिने बताएका हुन् ।
‘पहिले किसान आन्दोलनको माग सम्बोधन होस् अनि मात्र यहाँ स्थानीय तहको निर्वाचनको परिकल्पना गरौं’, राउतले भने, ‘नभए अरु ठाउँमा त भन्न सकिन्नँ तर तराई-मधेशमा झापादेखि कैलाली कञ्चनपुरसम्म स्थानीय निर्वाचनमा हामी अवरोध गर्नेछौं ।’ उनले जनमत पार्टी निर्वाचन विरोधी नभएको बताउदै भने, ‘हामी निर्वाचनमा जान आतुर छौं । निर्वाचनमा जानु अगाडि सरकारले कमसेकम किसान आन्दोलनको माग सम्बोधन गर्ने पहल थालिएको देखिनुपर्यो । किनकि एकै दिनमा यो समस्या समाधान हुने होइन ।’
‘यो निर्वाचनबाट कुनै ठूलो उथलपुथल होला भन्ने छैन। अहिलेसम्म त्यही ३÷४ जना नेताको अनुहार आउने हो। जुनसुकै सरकार आए पनि एजेन्डा यही रहने हो । त्यसैले यो सरकारले सम्बोधन प्रक्रिया वा तत्परता देखाएको भए हुन्थ्यो,’ राउतले भने, ‘किसान आन्दोलनको ज्ञापन पत्र नलिने, तर विदेशीको स्वार्थको पछाडि हाम्रा नेताहरु दौडिरहेका छन् ।’
अध्यक्ष राउतले अर्को चरणको किसान आन्दोलन फागुन १ गते घोषणा हुने जानकारी पनि दिए । मौसमको खराबीका कारण राजमार्ग केन्द्रित आन्दोलन ग्रामीण क्षेत्रमा सारिएको उनको भनाइ छ । कृषिमन्त्री मधेशकै भए पनि किसानको माग सुन्नसमेत नचाहेको जिकिर अध्यक्ष राउतले गरे । डेढ महिनादेखि आन्दोलन जारी रहँदा पनि किसानको मागमा सरकारले चासो नदिएको प्रति उनले दुःख व्यक्त गरेका छन् ।
जनमत पार्टीले किसान आन्दोलन मात्रै नभई जनजीविकासँग सम्बन्धित मागमा समेत आन्दोलन गर्दै आएको उनले बताए । किसान आन्दोलनमा उठेका मागहरु सम्बोधन गर्न कानुन बनाउनुपर्ने भएकाले आफूहरुको माग संघीय सरकारसँग रहेको डा.राउतको भनाइ छ ।






















