राजनीति

गृहमन्त्री र अर्थमन्त्रीबीच निर्वाचन लक्षित बजेटबारे छलफल

जगत ठाडा मगर
२०७८ माघ २६ | मध्यान्ह ०१:१० बजे

काठमाडौँ, माघ २६ । गृहमन्त्री बालकृष्ण खाँण र अर्थमन्त्री जनार्दन शर्माबीच निर्वाचन लक्षित बजेटबारे छलफल भएको छ ।

बुधबार गृह मन्त्रालयमा भएको छलफलमा निर्वाचन लक्षित बजेटमा पनि विशेष गरी सुरक्षा निकाय (नेपाल प्रहरी र सशस्त्र प्रहरी)का लागि अत्यावश्यक सवारी साधन र बन्दोबस्तीका सामानबारे कुराकानी भएको नीति, योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सहसचिव डा. भिष्मकुमार भूसालले जानकारी दिए ।

उनका अनुसार अब गृह मन्त्रालयले बिहीबारसम्म चालूतर्फको समेत बजेट एकीन गरेर अर्थ मन्त्रालयमा पठाउने छ । गृहमन्त्री खाणको पहलमा भएको छलफलमा गृहसचिव टेकनारायण पाण्डे, अर्थसचिव मधु मरासिनीसहित गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख सहसचिव मुकुन्द निरौला, योजना महाशाखा प्रमुख डा. भूसालसहित सम्बन्धित महाशाखाका कर्मचारीहरू सहभागी थिए ।

गृहमन्त्री खाणले निर्वाचनको कामलाई घनिभूतरूपमा अगाडि बढाउन अर्थमन्त्री शर्मासँग छलफल गरेका हुन् । अर्थमन्त्री शर्माले निर्वाचनमा अर्थमन्त्रालयलाई परेको चापबारे अवगत गराउँदै अत्यावश्यक गर्नै पर्ने विषयबारे जानकारी गराउन आग्रह गरेका थिए । गृहमन्त्री खाणले अर्थ मन्त्रालयलाई परेको दबाबबारे गृह मन्त्रालय सचेत रहेको भन्दै नभइ नहुने विषयबस्तुबारे अवगत गराइने बताएका थिए ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले निर्वाचनमा खटिनका लागि सवारी साधन र बन्दोबस्तीका सामान माग गरेपछि गृहमन्त्री खाणले अर्थसँग छलफल गरेका हुन् ।

कमेन्टहरु