स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै


काठमाडौं । सत्ता गठबन्धनका दलहरुको बैठक आज बस्दै छ । बिहान ९ बजेका लागि बैठक बोलाइएको हो । प्रधनमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठकमा मुख्य एजेन्डा स्थानीय तह निर्वाचन नै हुने स्रोतले जनाइएको छ ।
स्थानीय तह निर्वाचन ऐन संशोधन नभएपछि निर्वाचन आयोगले ऐनको दायराभित्र चुनाव गराउन मिति घोषणा गर्न सरकारलाई दबाब दिइरहेको छ । स्थानीय तह निर्वाचन ऐनले निर्वाचनको दुई महिना अगावै निर्वाचन गरी कार्यभार सम्हालेकै दिन पद हस्तान्तरण गर्ने व्यवस्था गरेको छ ।
संविधानको धारा २५ ले स्थानीय तहको निर्वाचित कार्यसमितिको कार्यकाल पाँच वर्ष तोक्दै थप छ महिनाभित्र निर्वाचन गरिसक्नु पर्ने व्यवस्था गरेपछि अहिले संविधान र कानुन कुन मान्ने भन्ने बहस चलिरहेको छ । सत्ता गठबन्धनले संविधानसँग ऐन बाझिए बदर हुने संविधानको धारा १ मा टेकेर ऐन संशोधन गर्ने निर्णय गरिसकेको छ ।
‘संविधानविद’को सुझावमा लिएको त्यो निर्णय सरकारले कार्यान्वयका लागि संशोधन प्रस्ताव संसदमा पठाइसकेको छैन । उक्त निणर्य नहुँदा निर्वाचन आयोगले सरकारलाई कानुन अनुसार वैशाखमै चुनाव गराउन पटकपटक राय दिँदै आइरहेको छ ।
शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच स्थानीय तहको निर्वाचनको मिति र ऐन संशोधनलगायत विषयमा छलफल भएको थियो ।






















