Opens in a new tab

ड्रोन आक्रमणपछि बाल्टिक सागरमा रुसी मालवाहक जहाजमा आगलागी, चालक दलको उद्धार

एजेन्सी

325Shares

सारांश

  • बाल्टिक सागरमा रुसी सैन्य सम्बन्ध रहेको मालवाहक जहाज स्पार्टामा ड्रोन आक्रमण भएपछि आगलागी भएको छ र यसमा युक्रेनको हात रहेको आशंका गरिएको छ।
  • फिनल्यान्डका अधिकारीहरूले जहाजमा रहेका १६ जना चालक दलका सदस्यको सकुशल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेका छन्।
  • घटनापछि फिनल्यान्ड र आसपासका क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ भने युरोपेली देशहरूले यसलाई युक्रेन युद्धको प्रभावको रूपमा लिएका छन्।
dida bag ad

फिनल्यान्ड । बाल्टिक सागरमा रुसी सैन्य सम्बन्ध रहेको मालवाहक जहाज स्पार्टा ड्रोन आक्रमणमा क्षतिग्रस्त भएपछि आगलागी भएको छ। जहाजमा रहेका १६ जना चालक दलका सदस्यलाई उद्धार गरी सुरक्षित स्थानमा लगिएको फिनल्यान्डका अधिकारीहरूले बताएका छन्।

फिनल्यान्डका अनुसार जहाजमा आक्रमण युक्रेनले गरेको हुनसक्ने आशंका छ। आक्रमणपछि जहाज अनियन्त्रित रूपमा बग्दै फिनल्यान्डको जलक्षेत्रमा पुगेको थियो।

फिनल्यान्डको सीमा सुरक्षा बलका कमान्डर इल्जा इल्जिनले शनिबार राति सार्वजनिक प्रसारक वाईएलईलाई बताएअनुसार जहाजका चालक दलका सदस्यहरू सुरुमा लाइफबोटमार्फत बाहिरिएका थिए। त्यसपछि उनीहरू नजिकै रहेको अर्को रुसी जहाजमा स्थानान्तरण गरिएका थिए। उनीहरू अहिले रुस फर्कँदै छन्।

रुसी जहाज स्पार्टा II रुसको सेन्ट पिटर्सबर्गबाट शुक्रबार प्रस्थान गरेको थियो। १२१ मिटर लामो उक्त जहाज रुसको कालिनिनग्राद क्षेत्रतर्फ जाँदै थियो।

फिनल्यान्डको रक्षा बलका अनुसार जहाज रुसको गोगल्यान्ड टापुको पश्चिमतर्फ अन्तर्राष्ट्रिय जलक्षेत्रमा क्षतिग्रस्त भएको थियो। शनिबार रातिसम्म जहाजमा आगलागी जारी रहेको थियो। जहाज फिनल्यान्डको जलक्षेत्रमा रोकिएकाले उद्धार तथा आगो नियन्त्रणको काम फिनल्यान्डले नेतृत्व गरिरहेको छ। रुसी जहाजहरूले पछि क्षतिग्रस्त जहाजलाई रुसतर्फ तान्न सक्ने अधिकारीहरूले बताएका छन्।

उद्धार कार्यका क्रममा रुसी हेलिकप्टरले केही समय फिनल्यान्डको हवाई क्षेत्र उल्लंघन गरेको आशंका गरिएको फिनल्यान्डको गल्फ अफ फिनल्यान्ड तटरक्षक बलका कमान्डर मिक्को सिमोलाले बताए।

फिनल्यान्ड र आसपासका क्षेत्रमा सुरक्षा सतर्कता

घटनापछि फिनल्यान्डले पूर्वी गल्फ अफ फिनल्यान्ड क्षेत्रमा अस्थायी हवाई तथा समुद्री प्रतिबन्ध लगाएको छ। ड्रोन रोक्नुपर्ने अवस्था आएमा र सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्न अधिकारीहरूलाई सहज होस् भन्ने उद्देश्यले प्रतिबन्ध लगाइएको हो।

फिनल्यान्डका प्रधानमन्त्री पेटेरी ओर्पोले सामाजिक सञ्जाल एक्समा युद्ध छिमेकी क्षेत्रसम्म फैलिएको बताएका छन्।

‘रुसको एउटा व्यापारिक जहाजमा ड्रोन आक्रमण भएको गल्फ अफ फिनल्यान्ड क्षेत्रमा फिनल्यान्डका अधिकारीहरूले अवस्था सम्हालिरहेका छन्। युक्रेनलाई आक्रमणकारीविरुद्ध लड्ने अधिकार छ,’ उनले लेखेका छन्।

फिनल्यान्डको कमान्डमा रहेका स्विडेनका लडाकु विमानहरूले घटनापछि फिनल्यान्ड र नेटोको क्षेत्रीय अखण्डताको रक्षा गर्न सहयोग गरेको स्विडेनका रक्षा मन्त्री पाल जोन्सनले बताएका छन्।

रुसको युक्रेनमाथि पूर्णस्तरको आक्रमणपछि फिनल्यान्ड सन् २०२३ र स्विडेन सन् २०२४ मा नेटोमा सामेल भएका थिए।

इस्टोनियाका प्रधानमन्त्री क्रिस्टेन मिखालले पनि बाल्टिक क्षेत्रमा रुसको आक्रमणविरुद्धको युद्धको असर पुगेको बताएका छन्। इस्टोनियाले उद्धार कार्यमा सहयोग गर्न नौसैनिक जहाज पठाएको छ। उक्त जहाजले आगो नियन्त्रण र समुद्री प्रदूषण रोक्ने कार्यमा सहयोग गर्ने बताइएको छ।

सैन्य सामग्री रहेको आशंका

स्पार्टा II अमेरिकी प्रतिबन्धमा परेको जहाज हो। अमेरिकी अर्थ मन्त्रालयका अनुसार यो रुसी जहाज कम्पनी ओबोरोनलोगिस्टिकासँग सम्बन्धित छ। उक्त कम्पनीले रुसी रक्षा मन्त्रालयका लागि ढुवानी तथा लजिस्टिक सेवा प्रदान गर्दै आएको छ।

जहाजमा के सामान लोड गरिएको थियो भन्ने पुष्टि नभए पनि सैन्य सामग्री हुनसक्ने सम्भावना रहेको फिनल्यान्डको सीमा सुरक्षा बलका अधिकारी इल्जिनले बताएका छन्।

रुसको लेनिनग्राद क्षेत्रका गभर्नर अलेक्जान्डर ड्रोज्देन्कोले जहाजमाथि अन्तर्राष्ट्रिय जलक्षेत्रमा रुसी सीमाबाट करिब तीन समुद्री माइल दूरीमा दुई ड्रोनले आक्रमण गरेको बताएका छन्। उनले रातभर लेनिनग्राद क्षेत्रमा ८० वटा ड्रोन खसालिएको दाबी गरेका छन्।

फिनल्यान्डको सेनाले गत साता पनि लेनिनग्राद क्षेत्रमा युक्रेनी ड्रोन आक्रमणको क्रममा रुसी युद्धपोतमाथि प्रहार भएको पत्ता लगाएको जनाएको थियो।

कालिनिनग्रादका गभर्नर एलेक्सी बेस्प्रोज्भानिखले पछिल्लो घटनाले उक्त क्षेत्रमा आपूर्ति व्यवस्थामा कुनै खतरा नपारेको बताएका छन्।

पोल्यान्ड र लिथुआनियाबीच रहेको कालिनिनग्राद रुसी क्षेत्र हो। यो क्षेत्र बेलाबेलामा रुस, नेटो र युरोपेली संघबीच तनावको केन्द्र बन्ने गरेको छ। रुसले यसअघि आफ्नो क्षेत्रीय जलक्षेत्रबाहिर रहेका व्यापारिक जहाजमाथिका आक्रमणलाई आतंकवाद र समुद्री डकैतीको संज्ञा दिँदै आएको छ।