Opens in a new tab

प्रथम धरान महिला गोल्डकपको उपाधि एपीएफ क्लबलाई

नवलपुर टुडे

3.2KShares

सारांश

  • सशस्त्र प्रहरी बल (एपिएफ) ले प्रथम धरान अन्तरराष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
  • धरान रङ्गशालामा भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै एपिएफ च्याम्पियन बनेको हो।
  • विजेता बनेको एपिएफले नगद पाँच लाख रुपैयाँ प्राप्त गर्दा उपविजेता पुलिसले तीन लाख रुपैयाँमा चित्त बुझायो।
dida bag ad

सुनसरी । विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) फुटबल क्लबले प्रथम धरान अन्तरराष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

धरान रङ्गशालामा शनिबार राति सम्पन्न फाइनलमा नेपाल पुलिस क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै एपिएफले उपाधि जितेको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।

अतिरिक्त समयको चौथो मिनेटमा रश्मीकुमारी घिसिङले गोल गर्दै एपिएफलाई अग्रता दिलाएकी थिइन् । अतिरिक्त समयको ३०औँ मिनेटमा अनिता केसीले दोस्रो गोल थपेपछि एपिएफको जित सुनिश्चित भएको थियो ।

एपिएफले प्रतियोगिताको पहिलो संस्करणमै उपाधि जित्न सफल भएको छ । उपाधिसँगै एपिएफले नगद रु पाँच लाख पुरस्कार प्राप्त गरेको छ भने उपविजेता नेपाल पुलिस क्लबले रु तीन लाख पुरस्कार प्राप्त गरेको आयोजक फुटबल क्लबका अध्यक्ष तथा प्रतियोगिताका संयोजक सन्तोष राईले जानकारी दिए ।

डी–१९ क्लब धरान–१९ र स्वर्णिम फुटबल क्लबको संयुक्त आयोजनामा गत कात्तिक २८ देखि धरान रङ्गशालामा रात्रिकालीन रूपमा सञ्चालन भएको प्रतियोगितामा एक भारतीय टोलीसहित आठ टोलीको सहभागिता थियो ।