Opens in a new tab

आन्तरिक एकता कमजोर हुँदा निर्वाचनमा पराजय भोग्नुपरेको उपाध्यक्ष थापाको निष्कर्ष

एजेन्सी

1.3KShares

सारांश

  • नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापाले पार्टीभित्रको आन्तरिक एकता कमजोर हुनु, सङ्गठनात्मक अराजकता र जनतासँगको सम्बन्ध टुट्नु नै विगतको निर्वाचनमा पराजयको मुख्य कारण रहेको बताएका छन्।
  • उनले पपुलिस्ट शक्तिहरूले जनतामा भ्रम फैलाउने र राजनीतिक दमन बढाउने प्रयास गरिरहेको उल्लेख गर्दै आगामी २०८४ को निर्वाचनलाई सामान्य नभई लोकतान्त्रिक तथा देशभक्त शक्तिहरूको प्रतिस्पर्धाको रूपमा लिनुपर्नेमा जोड दिएका छन्।
  • संविधान संशोधनका लागि दुईतिहाइ बहुमत आवश्यक पर्ने र भूराजनीतिक दबाब बढ्दै गएको अवस्थामा एमालेले आफ्ना कमजोरीहरू सुधार गर्दै नीति, स्पष्ट नेतृत्व र जनतासँगको सम्बन्धलाई प्राथमिकता दिनुपर्ने उनको धारणा छ।
dida bag ad

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष एवं प्रतिनिधिसभामा संसदीय दलका नेता रामबहादुर थापाले पार्टीभित्रको आन्तरिक एकता कमजोर हुँदा विगतको निर्वाचनमा पराजय भोग्नुपरेको निष्कर्ष सुनाएका छन् ।

बिहीबार काठमाडौँमा जारी एमाले राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै उनले प्रतिद्वन्द्वीविरुद्ध प्रभावकारी सहकार्य गर्न नसक्नु, आन्तरिक एकता कायम नहुनु र जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापित हुन नसक्नु पराजयका मुख्य कारण रहेको बताएका हुन् ।

पार्टीभित्रको विभाजन, सङ्गठनात्मक अराजकता र दक्षिणपन्थी अवसरवादलाई नियन्त्रण गर्न नसक्दा धक्का व्यहोर्नुपरेको थापाले उल्लेख गरे । अल्गोरिदमको भ्रम र ‘डिप स्टेट’ को षड्यन्त्र चिर्न नसकिएको उनको भनाइ छ । नेतृत्वको वरिपरि एकताबद्ध हुँदा पार्टी हाबी हुने तर नेतृत्वविरुद्ध उभिँदा दुवै पक्ष पराजित हुने टिप्पणी गर्दै उनले केन्द्रीय समितिले विगतको निर्वाचनबारे गरेको गम्भीर आत्मसमीक्षाको निष्कर्षलाई दृढतापूर्वक कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

पछिल्लो राजनीतिक घटनाक्रममा भू–राजनीतिक शक्तिहरूबीचको सङ्घर्ष तीव्र बन्दै गएको र पपुलिस्ट शक्तिहरूको आन्तरिक सत्ता सङ्घर्ष चर्किरहेको थापाले विश्लेषण गरे । लोकतान्त्रिक शक्तिहरूबिच सहकार्य बढ्दै गएको तथा जनतामा व्याप्त भ्रम हटेर आक्रोश बढिरहेको बताउँदै उनले संसदीय, सडक र कानुनी सङ्घर्षका माध्यमबाट फासिवादको प्रतिवाद गर्नुपर्ने धारणा राखे ।

भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष थापाले भने, ‘विगतको निर्वाचनमा हामीले राजनीतिक प्रतिद्वन्द्वीविरुद्ध प्रभावकारी सहकार्य गर्न सकेनौँ, आन्तरिक एकता कायम गर्न सकेनौँ र जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्न सकेनौँ । साथै, सामाजिक सञ्जालको भ्रम, कथित डीप स्टेटको षड्यन्त्र, दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई नियन्त्रण गर्न सकेनौँ । राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र समृद्धिका लागि एकता, सङ्घर्ष र विजयको विकल्प छैन ।’

यस्तै, उपाध्यक्ष थापाले आगामी निर्वाचनमा पपुलिस्ट र लोकतान्त्रिक शक्तिबिच तीव्र प्रतिस्पर्धा हुने बताए । घटनाक्रममा अप्रत्याशित परिवर्तन नभए आगामी वर्ष २०८४ निर्वाचन र चुनावी सङ्घर्षको वर्ष हुने उल्लेख गर्दै उनले पपुलिस्ट शक्तिहरूले आफ्नो राजनीतिक वर्चस्व कायम गर्न खोज्ने र त्यसको प्रतिवाद लोकतान्त्रिक तथा देशभक्त शक्तिहरूले गर्नुपर्ने बताए ।

स्थानीय तह, प्रदेशसभा, राष्ट्रियसभा र राष्ट्रपति पदमा कायम रहेको राजनीतिक प्रभाव जोगाउन एमालेले आफ्ना कमजोरी पहिचान गरी सुधार गर्नुपर्नेमा उनले जोड दिए । पपुलिस्ट शक्तिहरूले देशभक्त तथा लोकतान्त्रिक दलहरूमा विभाजन ल्याउने, जनतामा भ्रम फैलाउने र सुशासन तथा सम्पत्ति छानबिनको नाममा राजनीतिक दमन बढाउने प्रयास गरिरहेको थापाले आरोप लगाए ।

आगामी निर्वाचनलाई सामान्य चुनावका रूपमा लिन नहुने बताउँदै उनले भने, ‘आगामी निर्वाचन असामान्य राजनीतिक परिस्थितिमा हुँदैछ । संविधान संशोधनका लागि प्रतिनिधिसभा र राष्ट्रियसभामा दुईतिहाइ बहुमत आवश्यक पर्ने भएकाले आगामी निर्वाचनको राजनीतिक महत्त्व अझ बढेको छ । कुनै पनि राजनीतिक सङ्घर्षमा नीति, नेतृत्व र जनता मुख्य आधार हुन् । विगतका कमजोरी सच्याउँदै एकता, स्पष्ट नीति र जनतासँगको सम्बन्धलाई प्राथमिकता दिन आवश्यक छ ।’

चिनियाँ रणनीतिकार सुन जुको भनाइ उद्धृत गर्दै उपाध्यक्ष थापाले आफू र प्रतिस्पर्धी दुवैलाई चिन्न सके मात्रै राजनीतिक सङ्घर्षमा सफलता प्राप्त गर्न सकिने बताए ।