पाकिस्तानमा २२ आतङ्ककारी मारिएको सेनाको दाबी

एजेन्सी

सारांश
- पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा सुरक्षा बलले गरेको कारबाहीमा २२ जना आतङ्ककारी मारिएका छन्।
- पाकिस्तानी सेनाले मारिएका आतङ्ककारीलाई भारतको समर्थन रहेको आरोप लगाएको छ भने राष्ट्रपति र प्रधानमन्त्रीले सुरक्षा बलको प्रशंसा गरेका छन्।
- पछिल्लो समय पाकिस्तानमा सुरक्षा बललाई लक्षित गरी हुने आतङ्कवादी आक्रमण बढेका छन् जसमा अधिकांश घटनामा तहरीक–ए–तालिबान पाकिस्तानको संलग्नता रहेको अधिकारीहरूको दाबी छ।

इस्लामावाद । अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा सुरक्षा बलले गरेको कारबाहीमा २२ जना आतङ्ककारी मारिएको पाकिस्तानी सेनाले जनाएको छ । गुप्तचर सूचनाका आधारमा खैबर पख्तुनख्वा प्रान्तका विभिन्न स्थानमा गरिएको छापामा उनीहरू मारिएको सेनाले बिहीबार विज्ञप्तिमार्फत जानकारी दिएको हो ।
सेनाका अनुसार दक्षिण वजीरिस्तान, बन्नु र ट्याङ्क जिल्लामा पछिल्लो ४८ घण्टामा कारबाही गरिएको थियो । मारिएका आतङ्ककारीलाई भारतको समर्थन रहेको आरोपसमेत सेनाले लगाएको छ । यसबारे भारतले तत्काल कुनै प्रतिक्रिया जनाएको छैन । पाकिस्तानले यसअघि पनि अफगानिस्तान र भारतले पाकिस्तानी तालिबान तथा अन्य आतङ्कवादी समूहलाई सहयोग गरेको आरोप लगाउँदै आएको छ । दुवै देशले भने ती आरोप अस्वीकार गर्दै आएका छन् ।
राष्ट्रपति आसिफ अली जरदारी र प्रधानमन्त्री शाहबाज सरिफले छुट्टाछुट्टै वक्तव्य जारी गर्दै भारत समर्थित भनिएका आतङ्ककारीलाई मारिएको भन्दै सुरक्षा बलको प्रशंसा गरेका छन् । उनीहरूले आतङ्कवादविरुद्धको लडाइँ जारी राख्ने प्रतिबद्धता व्यक्त गर्दै आतङ्ककारी र तिनका समर्थकलाई पाकिस्तानमा अशान्ति फैलाउन नदिने बताएका छन् । आतङ्कवादविरुद्ध लडिरहेका सुरक्षा फौजको साथमा सिङ्गो राष्ट्र रहेको उनीहरूको भनाइ छ ।
पाकिस्तानमा पछिल्ला वर्षहरूमा प्रहरी तथा सुरक्षा बललाई लक्षित गरी हुने आतङ्कवादी आक्रमण बढेका छन् । अधिकारीहरूले अधिकांश घटनामा तहरीक–ए–तालिबान पाकिस्तान (टिटिपी) र त्यससँग आबद्ध अन्य आतङ्कवादी समूहको संलग्नता रहेको आरोप लगाउँदै आएका छन् ।
पाकिस्तानी तालिबान अफगानिस्तानको तालिबानभन्दा अलग सङ्गठन भए पनि सन् २०२१ मा काबुलमा सत्ता कब्जा गरेको तालिबानसँग सम्बन्धित छ । टिटिपीका धेरै नेता तथा लडाकू अफगानिस्तानको सीमापार क्षेत्रमा रहेका सुरक्षित आश्रयस्थलबाट गतिविधि सञ्चालन गरिरहेको विश्वास गरिन्छ । यसै कारण इस्लामाबाद र काबुलबीचको सम्बन्ध तनावपूर्ण बन्दै आएको छ ।

प्यारापाइलट उत्पादन गर्न माछापुच्छ्रेमा खुल्यो प्याराग्लाइडिङ स्कुल

बोलेरो दुर्घटनामा एक महिलाको मृत्यु, ९ जना घाइते

श्रीराम जानकी विवाहपञ्चमीको तयारी तीव्र, विभिन्न उपसमिति गठन

आज पहाडमा आंशिक बादल, तराईमा हुस्सु

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
अरुपनि पढ्नुहोस
सबै
आज हरिबोधिनी एकादशी: तुलसी र भगवान् विष्णुको विवाह गरिँदै

गण्डकीमा विपद्पछिको पुनःनिर्माण गर्न साढे ८ अर्बभन्दा बढी खर्च लाग्ने अनुमान

प्रदेश प्रमुखले दिएको समयसीमा सकिन एक दिन बाँकी रहँदासमेत मधेसमा नयाँ सरकारबारे अन्योल

थोरङ्ला पास हुँदै आठ हजार बढी पर्यटक मुस्ताङ भित्रिए
















