काभ्रेमा दुई दिनमा ७६ विदेशी नागरिक पक्राउ, ठूलो सङ्ख्यामा डिजिटल उपकरण बरामद

नवलपुर टुडे

सारांश
- काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा शङ्कास्पद गतिविधि गरेको आरोपमा पछिल्लो दुई दिनमा ७६ जना विदेशी नागरिक पक्राउ परेका छन्।
- पाँचखाल र पनौतीका रिसोर्टहरूमा छापा मारी प्रहरीले ठूलो सङ्ख्यामा ल्यापटप, मोबाइल तथा टिकटक बुथजस्ता अस्थायी संरचना बरामद गरेको छ।
- स्थानीय प्रशासन र सुरक्षा निकायले जिल्लाका होटल तथा रिसोर्टहरूमा निगरानी र अनुगमनलाई थप कडाइ गरेका छन्।

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा केही महिनादेखि विदेशी नागरिकको शङ्कास्पद गतिविधि देखिएपछि स्थानीय प्रशासन र सुरक्षा निकायले निगरानी बढाएका छन् ।
शङ्कास्पद गतिविधि गरेको आरोपमा बितेका दुई दिनमा विभिन्न स्थानबाट ७६ जना विदेशी नागरिक पक्राउ परेका छन् ।
जिल्लास्थित सुरक्षा निकायलाई चनाखो रही विशेष रूपमा जिल्लाका सबै स्थानका होटल तथा रिसोर्टमा अनुगमन गर्न भनिएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए । उनका अनुसार विशेषगरी पर्यटकीय क्षेत्रका होटल तथा रिसोर्टलाई अनुगमनमा प्राथमिकता दिइनेछ ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक तथा जिल्ला प्रहरी कार्यालयको टोलीले मङ्गलबार र बुधबार काभ्रेपलाञ्चोकको पाँचखाल र पनौतीको बल्थलीका होटलमा बसेर शङ्कास्पद गतिविधि गरेको आरोपमा उक्त सङ्ख्यामा विदेशी नागरिक पक्राउ गरेको हो ।
मङ्गलबार जिल्लाको पाँचखाल नगरपालिका–७ स्थित ह्वाइट पार्क रिसोर्टबाट पाँच महिलासहित ३६ चिनियाँ नागरिक र बुधबार पनौती नगरपालिका–११ बल्थलीस्थित बल्थली माउन्टेन रिसोर्टबाट ३५ जापानी र पाँच चिनियाँ गरी ४० विदेशी नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका चिनियाँ तथा जापानी नागरिकको साथबाट ठूलो सङ्ख्यामा ल्यापटप, मोबाइल, ट्याबलेटलगायत डिजिटल उपकरण बरामद गरिएको प्रहरीले जनाएको छ ।
पाँचखाल–७ शिखरपुरबाट मङ्गलबार नियन्त्रणमा लिइएका ३६ चिनियाँ नागरिकले प्रयोग गर्दै आएका ४९ कम्प्युटर (ल्यापटप) र १५५ थान मोबाइल जिल्ला प्रहरी कार्यालय हुँदै थप प्राविधिक अनुसन्धानका लागि प्रहरीको केन्द्रीय प्रयोगशालामा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका चिनियाँ नागरिकलाई बुधबार अध्यागमन विभागमा बुझाइएको छ ।
थाङ्का बनाउने तथा पर्यटन र प्रविधिसम्बन्धी काम गर्ने भन्दै ती नागरिक तीन महिनादेखि उक्त रिसोर्टमा बस्दै आएका थिए । स्थानीयको गुनासोपछि प्रहरीले छापा मार्दा उनीहरूका गतिविधि शङ्कास्पद देखिएको र रिसोर्टका दुई कोठामा ल्यापटप तथा मोबाइल फोन फेला परेको प्रहरीले जनाएको छ ।
यस्तै, बुधबार बिहान बल्थलीस्थित बल्थली माउन्टेन रिसोर्टमा प्रहरीले छापा मार्ने क्रममा रिसोर्टभित्र छुट्टाछुट्टै क्याबिन निर्माण गरिएको तथा टिकटकका करिब ३० देखि ३५ वटा बुथ, टेलिफोन, प्रहरी स्टेसन, अन्तर्वार्ता कक्षलगायत अस्थायी संरचना निर्माण गरिएको पाइएको प्रहरीले जनाएको छ ।
बुधबार नियन्त्रणमा लिइएका ४० जापानी र चिनियाँ नागरिकलाई हिरासतमा राखिएको तथा उनीहरूका डिजिटल उपकरणबारे प्राविधिकमार्फत अनुसन्धान भइरहेको विष्टले बताए ।
पछिल्ला केही महिनादेखि चिनियाँलगायत विदेशी नागरिकको बसोबास रहेको र उनीहरू बसेका होटल तथा रिसोर्टमा अन्य व्यक्तिलाई प्रवेश निषेध गरिएपछि विदेशीले अवैध गतिविधि गरेको भन्दै गुनासा आएका थिए । त्यसपछि प्रशासन र प्रहरीले मङ्गलबार र बुधबार पाँचखाल तथा पनौतीका होटल र रिसोर्टमा छापा मारेको हो ।
क्रमशः अन्य स्थानका होटल तथा रिसोर्टमा निरीक्षण र अनुगमनलाई निरन्तरता दिइने प्रजिअ अधिकारीले बताए ।
उनका अनुसार पर्यटकीय क्षेत्र मानिएका जिल्लाका धुलिखेल, पनौती, पाँचखाल, दोलालघाट, नगरकोटलगायत क्षेत्रमा विदेशी नागरिकको बसाइ तथा गतिविधिबारे संयन्त्रमार्फत थप सूचना सङ्कलन गर्ने क्रम जारी छ ।

प्यारापाइलट उत्पादन गर्न माछापुच्छ्रेमा खुल्यो प्याराग्लाइडिङ स्कुल

बोलेरो दुर्घटनामा एक महिलाको मृत्यु, ९ जना घाइते

श्रीराम जानकी विवाहपञ्चमीको तयारी तीव्र, विभिन्न उपसमिति गठन

आज पहाडमा आंशिक बादल, तराईमा हुस्सु

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
अरुपनि पढ्नुहोस
सबै
आज हरिबोधिनी एकादशी: तुलसी र भगवान् विष्णुको विवाह गरिँदै

गण्डकीमा विपद्पछिको पुनःनिर्माण गर्न साढे ८ अर्बभन्दा बढी खर्च लाग्ने अनुमान

प्रदेश प्रमुखले दिएको समयसीमा सकिन एक दिन बाँकी रहँदासमेत मधेसमा नयाँ सरकारबारे अन्योल

थोरङ्ला पास हुँदै आठ हजार बढी पर्यटक मुस्ताङ भित्रिए
















