Opens in a new tab

तनहुँको दमौली खेलमैदान स्तरोन्नति गरिँदै

नवलपुर टुडे

2.1KShares

सारांश

  • तनहुँको दमौलीस्थित बिपी वनवाटिका खेलमैदानको स्तरोन्नति गर्न संघीय सरकारबाट दुई करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।
  • प्राप्त बजेटबाट मैदानको व्यवस्थापनका साथै खेलाडीहरूका लागि चेन्जिङ रुम र शौचालयसहितका पूर्वाधारहरू निर्माण गरिनेछ।
  • पूर्वाधारको अभावमा सेभेन ए साइड फुटबलमा सीमित खेलमैदानमा अब ठूला तथा जिल्लास्तरीय प्रतियोगिताहरू आयोजना गर्न सहज हुने अपेक्षा गरिएको छ।
dida bag ad

तनहुँ । ठूला खेलकुद प्रतियोगिता आयोजना गर्न नसक्दा सेभेन ए साइड फुटबलमा सीमित हुँदै आएको तनहुँको दमौली खेलमैदान स्तरोन्नति हुने भएको छ। व्यास नगरपालिका–३ बिपी वनवाटिकास्थित खेलमैदानलाई व्यवस्थित बनाउन संघीय सरकारबाट दुई करोड रुपैयाँ बजेट विनियोजन भएपछि स्तरोन्नतिको प्रक्रिया अघि बढेको हो।

खेलमैदानको स्तरोन्नतिका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ। विनियोजित बजेटबाट मैदान व्यवस्थित गर्नुका साथै खेलाडीका लागि कपडा फेर्ने कक्ष र शौचालय निर्माण गरिनेछ। नगर खेलकुद समितिका अध्यक्ष एवं व्यास नगरपालिका–६ का वडाध्यक्ष जीवन गुरुङले खेलमैदान स्तरोन्नतिका लागि संघीय सरकारबाट प्राप्त बजेट कार्यान्वयन प्रक्रिया अघि बढिसकेको बताए।

नगरपालिकाको बजेटबाट यसअघि नै खेलमैदानमा ‘प्यारापिट’ निर्माण गरिसकिएको छ। प्यारापिट निर्माणपछि अब मैदानको अवस्था सुधार गर्दै खेलकुद प्रतियोगिता सञ्चालन गर्न आवश्यक पूर्वाधार थप्ने तयारी गरिएको गुरुङले जानकारी दिए। व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले खेलमैदान रहेको जग्गा जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको र खेलमैदानलाई व्यवस्थित बनाउने प्रयास भइरहेको उल्लेख गरे। आवश्यक पूर्वाधार थपिएपछि खेलमैदानलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सहज हुने उनको भनाइ छ।

दमौली खेलमैदानमा आवश्यक पूर्वाधारको अभाव हुँदा ठूला खेलकुद प्रतियोगिता आयोजना गर्न कठिनाइ हुँदै आएको छ। हाल यहाँ मुख्यतः सेभेन ए साइड फुटबल प्रतियोगिता मात्रै सञ्चालन हुने गरेको छ। खेलमैदानको अवस्था सुधार गरी आवश्यक संरचना निर्माण गर्न सके जिल्लास्तरीय तथा ठूला प्रतियोगिता आयोजना गर्ने सम्भावना बढ्नेछ। यसबाट स्थानीय खेलाडीलाई अभ्यास र प्रतिस्पर्धाका अवसर उपलब्ध गराउन पनि सहयोग पुग्ने अपेक्षा गरिएको खेलकुद समितिका अध्यक्ष गुरुङले बताए।

आधुनिक सुविधासहितको खेलमैदान निर्माणले व्यास नगरपालिकाको समग्र खेलकुद क्षेत्रको विकासमा सकारात्मक प्रभाव पार्नेछ। यसले स्थानीय तथा क्षेत्रीय स्तरका प्रतियोगिताहरू आयोजना गर्न सहयोग पुग्ने विश्वास गरिएको दमौलीका युवा भुवन गोशलीले बताए। वर्षौंदेखि युवाहरूको सपनाका रूपमा रहेको फुटबल मैदान निर्माणका लागि बजेट सुनिश्चित भएकामा उनले खुसी व्यक्त गरे।
उनले भने, “खेलमैदानका लागि बजेट विनियोजन भएपछि खेलप्रेमी युवामा नयाँ उत्साह थपिएको छ। खेलकुद पूर्वाधारको विकासले युवाहरुलाई सकारात्मक बाटोमा अग्रसर गराउनाका साथै दमौलीलाई खेलकुदको केन्द्रका रुपमा स्थापित गर्न सहयोग पुग्नेछ।”