विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद


काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अवैध रुपमा विदेश लैजान लागिएको चुरोट तथा सुर्तीजन्य पदार्थ प्रहरीले बरामद गरेको छ । विमानस्थलको प्रस्थानतर्फ यात्रुका ब्यागेज एक्सरे मेसिनमार्फत सुरक्षा जाँच गर्ने क्रममा शङ्का लागेपछि अनुसन्धान गरिँदा विभिन्न ब्रान्डका चुरोट तथा सुर्तीजन्य पदार्थ फेलापरेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार, शिखर, सूर्य, क्याप्टेन, पाइलोट र खुकुरी ब्रान्डका ७२ बन्डल अर्थात् ७२० प्याकेट चुरोट तथा जित, सुपर पावर, भोला, मेघाश्री र करेन्ट ब्रान्डका ६९ पोका सुर्तीजन्य पदार्थ बरामद गरिएको छ ।
बरामद गरिएका ती चुरोट तथा सुर्तीजन्य पदार्थलगायतका बस्तु आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको जानकारी दिइएको छ ।
विमानस्थलको सुरक्षा व्यवस्थालाई थप चुस्त तुल्याउँदै अवैधवस्तुको ओसारपसार तथा निकासी नियन्त्रणका लागि नियमित तथा सघन सुरक्षा जाँचलाई निरन्तरता दिइने प्रवक्ता सिलवालले बताए ।






















