Opens in a new tab

देश

पेट्रोलियम पदार्थको मूल्य नबढे चाडपर्वमा यातायात भाडा नबढ्ने

नवलपुर टुडे
२०८३ अशोज ५ | मध्यान्ह ०६:०६ बजे

काठमाडौं । नेपाल यातायात व्यवसायी महासंघले पेट्रोलियम पदार्थको मूल्य नबढ्दासम्म चाडपर्वमा यातायात भाडा नबढाउने बताएको छ ।

महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि नगर्दासम्म यातायात भाडा नबढ्ने बताए । ” पेट्रोलियम पदार्थको  मूल्य वृद्धि भएन भने तोकिएअनुसारको भाडा नै कायम रहन्छ । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएमा बाध्य भएर भाडा बढाउनुपर्ने हुन्छ । नत्र तोकिएको ठाउँमा कुनै पनि हालतले भाडा बढी लिइँदैन, तोकिएको भाडामा टिकट पाउँछ,” उनले भने ।

आगामी एक महिनासम्म अन्तर्राष्ट्रिय बजारमा मूल्य बढे पनि त्यसको मारमा उपभोक्तालाई नपार्न उनले सरकारलाई आग्रह गरे ।  अध्यक्ष सिटौलाले अनलाइन टिकटिङ तथा प्रविधिमैत्री यातायात प्रणाली कार्यान्वयनमा सरकारी निकायले अवरोध गरिरहेको पनि आरोप लगाए ।

प्रविधिसम्बन्धी कार्यविधि स्वीकृत भएर विभागमा पुगेको भए पनि कार्यान्वयनमा ढिलाइ भइरहेको उनको भनाइ छ । तत्काल अनलाइन टिकटिङसम्बन्धी कार्यविधि कार्यान्वयन गर्न उनले सरकारसँग माग गरे ।  प्रविधिको प्रयोगमार्फत टिकटिङ प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन व्यवसायीहरू तयार रहेको उनको भनाइ छ । –न्युज एजेन्सी नेपाल

कमेन्टहरु