मुख्य समाचार, समाचार, साहित्य, सुदुरपश्चिम प्रदेश

पत्रकारिता सँगै साहित्यको यात्रा: गोबिन्द राज तिमिल्सिना

उमेश रोकाया
२०८३ अशोज ४ | बिहान ०८:०६ बजे

बाजुरा, असोज ४ । ‘हामी र हाम्रो कृति समाज’को ३१औँ कृतिका रूपमा गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण गरिएको छ। विकट जिल्ला बाजुरामा जन्मिएर पत्रकारिता पेशामा सक्रिय गोबिन्द तिमिल्सेनाले लामो समयदेखी गाउँ समाजका कथा लेख्दै आएका छन्। अभावमा बाँचिरहेका नागरिक, दुर्गम बस्तीका समस्या,विकासका चुनौती र सम्भावनालाई समाचारमार्फत बाहिर ल्याउने क्रममा उनले समाजलाई नजिकबाट नियाल्दै आए। त्यहीँ क्रममा देखेका र भोगेका जीवनका अनेक पाटाहरुलाई साहित्यका माध्यममार्फत पोख्न थालेका हुन्।

सञ्चारकर्मीका रुपमा उनले विशेषगरी दुर्गम क्षेत्रका नागरिकका समस्या र सम्भावनालाई प्राथामिकतामा राख्दै आएका छन्। पत्रकारिताले उनलाई समाजलाई नजिकबाट बुझ्ने अवसर दियो भने साहित्यले त्यहीँ समाज र जीवनलाई भावनाको भाषामा अभिव्यक्त गर्ने बाटो दिएको छ। समाचारमा सत्य, तथ्थ र घटनालाई प्रस्तुत गर्ने तिमिल्सेना साहित्यमा भने भावना, अनुभूति र कल्पनालाई शब्द दिन्छन्।

त्यसैले उनका सिर्जनामा पत्रकारिबाट प्राप्त सामाजिक दृष्टि र साहित्यिक संवेदनशीलताको मिश्रण देखिन्छ। तिमिल्सेना विगत ६ बर्षदेखि पत्रकारिता पेशामा सक्रिय रुपमा काम गर्दै आएका छन्। २०७८ बाट पत्रकारिता थालेका तिमिल्सेनाले ६ बर्षको दौरानमा प्रायस् सामाजिक रहनसहन, कृषि, व्यवसाय, भाषा, कला, संस्कृति लगायत बिषयमा कलम चलाउदै आएका छन्। साहित्यमा भने तिमिल्सेनाले सानै देखि रचनाहरु कोर्दै आएका थिए। बाजुरेली खस भाषामा समेत मुक्तक लेख्दै आएका तिमिल्सेनाले स्थानीय भाषा, संस्कृति र जीवनशैलीलाई साहित्यमा समेट्ने प्रयास गर्दै आएका हुन्।उनको सिर्जनामा प्रेम र सम्बन्धसँगै जन्मभूमी तथा समाजप्रतिको अपनत्व पनि उत्तिकै बलियो देखिन्छ।

विभिन्न राष्ट्रिय तथा स्थानीय सञ्चार माध्यममा रचनाहरु प्रकाशित हुँदै आएका तिमिल्सेनाको जीन्दगीको यात्रा उनको एकल कृति हो। यसअघि तिमिल्सेना संयुक्त रुपमा प्रकाशित हामी र हाम्रो मुक्तकसङ्ग्रह २०८२ र हामी र हाम्रो अमर कृति २०८३ मा सहलेखकको रुपमा उनका दर्जनौं बढि रचना प्रकाशित भई सकेका छन्। सञ्चारकर्मीको रुपमा दुर्गम समाजका आवाज बुलन्द गर्दै आएका तिमिल्सेनाको लागी ‘जिन्दगीको यात्रा’ केवल पुस्तक मात्र नभई उनको साहित्यिक यात्राको महत्त्वपूर्ण दस्तावेज समेत हो।

कमेन्टहरु