समाज

अनुदानले बदल्यो कास्कीका गाउँको मुहार : घाचोकबाट मात्रै दैनिक तीन हजार लिटर दुध पोखरा जाँदै

रासस
२०८३ भदौ ३१ | बिहान ११:०५ बजे

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर दुध पोखरा बजारमा भित्रिन्छ।

पछिल्लो समय यो वडामा मात्र तीनवटा दुध सङ्कलन केन्द्र (डेरी) खुलेका छन्। यहाँ पाँच वर्षको अवधिमा व्यावसायिक पशुपालन फस्टाएको छ। प्रत्येक घरमा गाईपालन सुरु गरेर दुध बिक्री गर्ने किसान बढेका छन्।

सरकारले दुध उत्पादनमा किसानलाई प्रोत्साहन दिएपछि व्यावसायिक दुध उत्पादन वृद्धि भएको हो। सरकारले किसानलाई दुधमा प्रतिलिटर पाँच रुपैयाँका दरले अनुदान दिने गरेको छ। ‘सरकारले दुध उत्पादनका आधारमा अनुदान रकम दिएपछि किसानलाई राहत भएको छ। गाउँमा पशुपालनको लहर नै चलेको छ,’ स्थानीय किसान गोपाल पोखरेल भन्छन्, ‘चोक्कर, पराललगायत पशु आहाराको मूल्यवृद्धि हुँदा अझै दुधको मूल्य खर्चका आधारमा न्यून छ, समयअनुसार दुधको मूल्यसमेत बढाउनु आवश्यक छ।’

भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय कास्कीले जिल्लामा उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको छ। यस कार्यक्रममा दुध उत्पादन गर्ने किसानलाई उत्पादनका आधारमा सिधै नगद अनुदान दिइन्छ।

गत आर्थिक वर्ष दुध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रममार्फत किसानलाई दुई करोड २० लाख रुपैयाँ प्रोत्साहन अनुदान वितरण गरिएको कार्यालयका प्रमुख डा. गृष्म न्यौपानेले बताएका छन्। उनका अनुसार ४४ लाख लिटर दुधको अनुदान दिइएको थियो। दुध उत्पादन, सङ्कलन तथा औपचारिक बजारीकरणमा आबद्ध सहकारी संस्थाबाट सरकारले दिएको अनुदान रकम किसानले पाउने गरेका छन्।

‘दुध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम अत्यन्त प्रभावकारी छ। यसबाट किसानहरू दुध उत्पादन र औपचारिक बजारीकरणमा आबद्ध हुनका लागि प्रोत्साहित हुनुभएको छ,’ कार्यालय प्रमुख न्यौपाने भन्छन्।

गत वर्ष यस कार्यक्रमअन्तर्गत २७ वटा दुध सङ्कलन संस्था वा केन्द्रमार्फत वार्षिक ६९ लाख २३ हजार ७०० लिटर दुध सङ्कलन भएको विवरणमा उल्लेख छ। साथै आठ हजार ५० जना किसान दुध सङ्कलन प्रणालीमा आबद्ध रहेको कार्यालयले जनाएको छ।

कार्यालयले दुध उत्पादन बढाउन किसानलाई प्रतिलिटरका आधारमा प्रोत्साहन दिने कार्यक्रमले उत्पादनलाई औपचारिक बजारसँग समेत जोड्न सहयोग पुर्याएको छ। उत्पादनमा आधारित अनुदानसँगै पाडी-बाछी हुर्काउने प्रोत्साहन कार्यक्रमलाई पनि पशुपालन क्षेत्रको उत्पादन वृद्धि गर्ने महत्त्वपूर्ण कार्यक्रमका रूपमा कार्यालयले अघि बढाएको छ।

यस कार्यक्रममा कोरली बाछी र कोरली पाडी हुर्काउनका लागि किसानलाई १० हजार रुपैयाँका दरले अनुदान दिइने गरेको छ। यस कार्यक्रमबाट गत वर्ष ९९ कोरली पाडी र ३५५ बाछी हुर्किइ माउ बन्न योग्य भएको र दुधालु पशुको सङ्ख्यामा ४५४ ले वृद्धि भई यस वर्ष १२ लाख लिटर अतिरिक्त दुध उत्पादन हुने कार्यालयको अनुमान छ।

कास्की जिल्लामा कुल एक लाख २० हजार ५७२ घरपरिवार रहेकामा ५२ हजार ३२३ परिवार पशुपालनमा आबद्ध रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयले जनाएको छ।

कमेन्टहरु