भोटेकोशीको बाढी: सुरुङभित्रै मृत्युसँगको संघर्ष र ज्यान जोगाएर फर्केका कुँवरको कथा


नवलपरासी,भदौ २६ । भोटेकोशी क्षेत्रमा आएको भयानक बाढी र विपद्ले ठूलो जनधनको क्षति पुर्याएको छ । सोही क्षेत्रमा विद्युत् परियोजनाअन्तर्गत सुरुङभित्र काम गरिरहेका पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं. १४ निवासी रोहितकुमार कुँवर बाढीको चपेटाबाट सकुशल ज्यान बचाएर फर्कन सफल हुनुभएको छ । कुँवरका अनुसार उहाँले दिएको जानकारीमा आधारित विपद्को त्यो डरलाग्दो क्षण र उद्धारको कथा यस्तो छ ।
सुरुङभित्रको काम र बाढीको अचानक त्रास
घटनाका दिन रोहित २ सय १६ मेगावाटको जलविद्युत आयोजनामा इलेक्ट्रीशियनको रूपमा काम गर्न सुरुङभित्र हुनुहुन्थ्यो । सुरुमा बाहिर केही थाहा नभए पनि जब सुरुङभित्र पानी प्रवेश गर्न थाल्यो, तब मात्र खतराको महसुस भयो । त्यसलगत्तै साइरनहरू बज्न थाले र सेफ्टी अफिसरले तत्काल बाहिर निस्कन उर्दी जारी गरे।
“हामी बाहिर आउँदा त बाढीले सबै बगाइसकेको थियो, क्याम्पहरू सबै लैिसकेको थि यो। हामी पनि माथि भाग्न थाल्यौँ, माथि भागेरै हाम्रो ज्यान जोगियो,” रोहितले त्यो कहाली लाग्दो क्षण सम्झिनुभयो।
१०-१५ मिनेटको अन्तरालले बचेको ज्यान
बाढीको सुचना पाउनेबित्तिकै सुरुङभित्रका मजदुरहरू १० देखि १५ मिनेटको छोटो समयसीमाभित्रै सुरक्षित स्थानतर्फ भाग्न सफल भएका थिए । उहाँहरू सुरुमा चौरतिर गए पनि त्यहाँ पनि खतरा बढेपछि सुरुङ बाहिर रहेका चिनियाँहरूको क्याम्प, कन्ट्रोल बिल्डिङ र माथिल्लो डाँडातिर पुगेर ज्यान बचाउनुभयो । पानीको सतह लगातार बढिरहेका कारण उहाँहरू रातको समयमा पनि ज्यान बचाउन पटक-पटक माथि र तल गरिरहनुपरेको थियो।
१११ जनाको जनशक्ति र मानवीय क्षति
उक्त आयोजनामा मेकानिकल र इलेक्ट्रिकलतर्फ गरेर कुल १११ जना कामदार कार्यरत थिए। सुपरभाइजर र सेफ्टी अफिसरको जानकारी अनुसार, इलेक्ट्रिकलतर्फका सबै मजदुरहरू सुरक्षित रूपमा निस्कन सफल भए पनि मेकानिकलतर्फका १ जना मजदुर भने मिसिङ (बेपत्ता) हुनुभएको छ।
तीन दिनको प्रतीक्षा र हेलिकप्टरबाट उद्धार
घटनास्थलमा लगातारको बाढी र जोखिमका कारण उहाँहरू तीन दिनसम्म सुरुङ र डाँडाकै क्षेत्रमा त्रसित अवस्थमा बस्नुपरेको थियो । परिवारसँग सम्पर्क गर्न चाहँदा नेटवर्कले साथ दिएन । घरका मानिसहरूले सञ्चार माध्यम वा छोटो समय आएको नेटवर्कमार्फत उहाँ सुरक्षित रहेको खबर पाउनुभए पनि निरन्तर नेटवर्क नहुँदा निकै तनावमा रहेका थिए । घटनाको तीन दिनपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उहाँहरूको सकुशल उद्धार गरिएको हो ।
कम्पनीको सहयोग र मानसिक असर
उद्धारपश्चात काठमाडौं आएर एक साताको विश्रामपछि उहाँ आफ्नै घर फर्कनुभएको छ। आयोजनाको सुरुङ तथा भौतिक संरचनाहरूमा ठूलो क्षति पुगेको भए पनि कम्पनीले सम्पूर्ण कर्मचारीहरूलाई सुरक्षित रूपमा काठमाडौं ल्याएर आवश्यक सेवा-सुविधा उपलब्ध गराएको र मानसिक रूपमा ठिक भएपछि मात्र काममा बोलाउने प्रतिबद्धता जनाएको उहाँले बताउनुभयो।
भोटेकोशीको त्यो भयानक बाढी र सुरुङभित्र बिताएका ती सम्झना गर्दा अझै पनि आफूलाई त्यो ठाउँमा कहिल्यै नफर्कौँ जस्तो महसुस हुने रोहितकुमार कुँवर बताउनुहुन्छ ।






















