यूएईमा दुई नेपाली संगठनबीच एकता, ‘अन्तर्राष्ट्रिय नेपाली मञ्च’ गठन


प्रवास दुबई, यूएई|
यूएईमा रहेका नेपाली श्रमिक तथा प्रवासी समुदायका साझा सवाललाई थप सशक्त रूपमा उठाउने उद्देश्यसहित नेपाली जनप्रगतिशील मञ्च यूएई र प्रवासी नेपाली एकता मञ्च यूएईबीच एकता भएको छ। लामो समयदेखिको छलफल, संवाद र आपसी सहमतिपछि दुवै संगठन एकीकृत हुँदै ‘अन्तर्राष्ट्रिय नेपाली मञ्च यूएई’ को रूपमा अघि बढ्ने निर्णय गरिएको हो।
दुई संगठनबीच भएको एकतासँगै लक्ष्मण खनाललाई संयोजक र विपिन सापकोटालाई सहसंयोजक चयन गरिएको जनाइएको छ। नयाँ संरचनामार्फत यूएईमा कार्यरत नेपाली श्रमिकहरूको हक, अधिकार, सामाजिक सुरक्षा तथा विभिन्न समस्या र सरोकारका विषयमा संगठित रूपमा आवाज उठाउने लक्ष्य लिइएको छ।
यसअघि नेपाली जनप्रगतिशील मञ्च यूएई र प्रवासी नेपाली एकता मञ्च यूएई अलग–अलग रूपमा क्रियाशील रहँदै आएका थिए। लामो समयदेखि विभिन्न चरणमा भएको छलफलपछि साझा लक्ष्य, उद्देश्य र अभियानलाई केन्द्रमा राख्दै संगठनात्मक एकताको निर्णयमा पुगेको बताइएको छ।
एकतापछि गठन भएको अन्तर्राष्ट्रिय नेपाली मञ्च यूएईले यूएईमा रहेका नेपाली समुदायका साझा समस्या तथा सवाललाई प्राथमिकताका साथ सम्बोधन गर्न सम्बन्धित निकायसँग समन्वय र सहकार्य गर्ने जनाएको छ। विशेषगरी श्रमिकका हक–अधिकार, रोजगारीसँग सम्बन्धित समस्या, सामाजिक सुरक्षा तथा प्रवासी नेपालीका अन्य सरोकारका विषयमा आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
मञ्चका संयोजक लक्ष्मण खनालले एकताले यूएईमा रहेका नेपाली समुदायलाई अझ संगठित र प्रभावकारी ढंगले अघि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। साझा उद्देश्यका लागि एकताबद्ध भएर अघि बढ्नु अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै उनले संगठनलाई नेपाली समुदायको सुख–दुःखमा साथ दिने साझा मञ्चका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नवगठित मञ्चले राजनीतिक तथा संगठनात्मक गतिविधिसँगै यूएईमा रहेका नेपालीहरूको सामाजिक हित र अधिकारका विषयलाई समेत प्राथमिकतामा राख्ने जनाएको छ। नेपाली समुदायबीच सहकार्य, एकता र आपसी समन्वयलाई बलियो बनाउँदै आवश्यक पर्दा समुदायका समस्यामा अग्रसर भएर सहयोग गर्ने लक्ष्य लिइएको छ।
मञ्चले विगतमा जस्तै आगामी दिनमा पनि यूएईमा रहेका नेपालीहरूको सुख–दुःखको साथीका रूपमा क्रियाशील रहने जनाएको छ। प्रवासमा रहेका नेपालीका साझा समस्या समाधानका लागि सम्बन्धित संघसंस्था, समुदाय तथा सरोकारवाला निकायसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
दुई संगठनबीचको यो एकतालाई यूएईमा नेपाली समुदायका साझा मुद्दालाई एउटै सशक्त मञ्चमार्फत उठाउने प्रयासका रूपमा हेरिएको छ। संगठनात्मक एकतासँगै आगामी दिनमा श्रमिक तथा प्रवासी नेपालीका मुद्दामा थप प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।






















