बाढीपीडितका लागि नेवा: पुच: यूएईको पहिलो चरणको राहत सहयोग NEFIN UAE लाई हस्तान्तरण

प्रवास दुबई, यूएई |
भोटेकोसी, त्रिशूलीलगायत विभिन्न नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नेपाली परिवारका लागि नेवा: पुच: यूएईले सञ्चालन गरेको राहत संकलन अभियानअन्तर्गत पहिलो चरणको सहयोग रकम नेपाल आदिवासी जनजाति महासंघ (NEFIN) यूएईलाई हस्तान्तरण गरेको छ।
बाढीका कारण मानवीय क्षतिसँगै घरबस्ती, धनसम्पत्ति तथा प्राकृतिक एवं सांस्कृतिक सम्पदामा समेत ठूलो क्षति पुगेको भन्दै नेवा: पुच: यूएईले विपद्मा परेका नेपालीको पीडामा साथ दिने उद्देश्यले राहत सहयोग संकलन अभियान सञ्चालन गरेको जनाएको छ।
अभियानअन्तर्गत पहिलो चरणमा संकलित १,२२५ दिर्हाम (नेपाली रुपैयाँ करिब ५० हजार) राहत रकम सम्बन्धित निकायमार्फत बाढीपीडितसम्म पुर्याउने उद्देश्यले NEFIN यूएईलाई हस्तान्तरण गरिएको हो।
बरदुबईस्थित ग्राण्ड एम्बेसडर होटलमा आयोजित भेटघाट कार्यक्रममा नेवा: पुच: यूएईका अध्यक्ष वीरेन्द्र कुमार नकर्मी, महासचिव कुमार बलामी तथा वरिष्ठ इन्जिनियर एवं नेवा: पुच: का व्यक्तित्व किरण बज्राचार्यले उक्त रकम NEFIN यूएईका अध्यक्ष भागरथी कुमार भगत, वरिष्ठ उपाध्यक्ष राजु गुरुङ, कोषाध्यक्ष तथा नेवा: पुच: यूएईका सदस्य ईश्वर श्रेष्ठ र NEFIN सदस्य एवं नेवा: पुच: यूएईका उपाध्यक्ष दीपेश श्रेष्ठलाई हस्तान्तरण गरेका थिए।
राहत रकम हस्तान्तरण कार्यक्रममा वाईफिन यूएईका अध्यक्ष तथा नेवा: पुच: यूएईका सदस्य गोपाल श्रेष्ठको समेत रोहबर रहेको थियो।
नेवा: पुच: यूएईका अनुसार राहत संकलन अभियान निरन्तर जारी रहनेछ। दोस्रो चरणमा संकलन हुने राहत सहयोग नेवा: देय् दबु केन्द्रीय समितिमार्फत सम्बन्धित निकायसम्म पुर्याउने योजना रहेको छ।
त्यसैगरी, अन्य संघसंस्थासँग समन्वय गरी तेस्रो चरणमा समेत राहत संकलन गर्दै विपद् प्रभावित परिवारसम्म सहयोग पुर्याउने पहल जारी राखिने संस्थाले जनाएको छ।
राहत अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण नेपाली तथा सहयोगी मनहरूप्रति नेवा: पुच: यूएईले आभार व्यक्त गरेको छ।
बाढी तथा विपद्मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै संस्थाले शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै, उद्धार, राहत तथा पुनर्स्थापनामा खटिएका व्यक्ति, संघसंस्था तथा सम्बन्धित निकायप्रति सम्मान तथा धन्यवाद व्यक्त गरेको छ।
नेवा: पुच: यूएईका महासचिव कुमार बलामीले नवलपुर टुडेलाई जानकारी दिँदै राहत संकलन अभियानलाई निरन्तरता दिइने र थप चरणमा समेत सहयोग जुटाएर विपद् प्रभावित परिवारसम्म पुर्याउने पहल भइरहेको बताउनुभयो।

“विपद्को घडीमा एकता, सहयोग र मानवीयताको हात फैलाऔँ” भन्ने सन्देशसहित नेवा: पुच: यूएईले राहत अभियानलाई निरन्तरता दिने जनाएको छ।























