प्रबास

अमेरिकाको ‘अहिलेसम्मकै ठुलो आर्थिक आक्रमण’ सामना गर्न तयार छौँ : इरान

एजेन्सी
२०८३ भदौ ९ | मध्यान्ह ०१:०५ बजे

तेहरान । अमेरिकाले आफूविरुद्ध लगाउने प्रतिबन्ध थप कडा बनाउने घोषणा गरेपछि त्यसको सामना गर्न इरानले दुई वर्षे योजना तयार गरेको छ ।

अमेरिकाले हालै इरानी अर्थतन्त्रलाई धराशायी बनाउन इरानसँग कारोबार गर्ने र उसलाई आर्थिक सहायता उपलब्ध गराइरहेका देशलाई यो काम छाड्न होइन भने गम्भीर परिणाम भोग्न चेतावनी दिएको थियो । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले यसलाई ‘अहिलेसम्मकै सबैभन्दा ठुलो वित्तीय आक्रमण’ भनेका छन् ।

त्यसको जवाफमा इरानका अर्थमन्त्री अली मदानिजादेहले अमेरिकी प्रतिबन्ध सामना गर्न आफ्नो देश पूर्ण रूपमा तयार रहेको र अमेरिकाले फेरि पनि पराजय भोग्ने दाबी गरेका छन् । इरानी शासनविरुद्ध पछिल्लो कदम घोषणा गर्दै बेसेन्टले अमेरिकाले इरानसँगका सबै आर्थिक सम्बन्ध अन्त्य गर्ने बताएका थिए । इरानसँग आर्थिक साझेदारी गर्ने जुनसुकै देशलाई समेत अलग्याइने उनको भनाइ थियो । यो घोषणा ह्वाइट हाउसले युद्ध अन्त्य गर्ने प्रयासमा आफ्नो अडान पटक–पटक परिवर्तन गर्दै समयसीमा थपिरहेको अवस्थामा आएको हो ।

बेसेन्टको घोषणापछि केही घण्टामै इरान लामो समयदेखि यस्ता योजनाको प्रतीक्षामा रहेको मदानिजादेहले बताएका थिए । ‘सरकार तयार  थियो र छ । यस्ता घटनाक्रम व्यवस्थापन गर्न हामीसँग दुई वर्षे योजना छ,’ उनले सरकारी टेलिभिजनसँग भने । ‘हामीसँग आफ्नै उपायहरू पनि छन् र यो खेल कसरी खेल्ने भन्ने हामीलाई थाहा छ,’ अझ अगाडि उनले भनेका थिए । चीन र रुसले अमेरिकी कदम ‘स्वीकार’ नगरेको पनि उनले बताएका थिए । अन्य देशले पनि अमेरिकी प्रतिबन्धको विरोध गर्ने उनको अनुमान थियो ।

यसैबिच अमेरिकी धम्कीमा प्रतिक्रिया जनाउँदै चीनको विदेश मन्त्रालयले प्रतिबन्ध र दबाबको रणनीतिले कुनै समस्या समाधान नगर्ने बताएको थियो  । आफ्नो हितको रक्षा गर्न आवश्यक कदम चाल्ने पनि उसको भनाई थियो । इरान युद्धका कारण पश्चिम एशियाबाट कच्चा तेलको प्रवाहमा सीमित भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य बढेको छ । पछिल्लो अमेरिकी चेतावनीपछि इरानले युद्ध जारी रहेमा क्षेत्रबाट हुने सबै तेल निर्यात बन्द गरिदिने चेतावनी दिएको छ ।

रोयटर्सका अनुसार इरानी शासनले अनुमति नलिई स्टेट अफ होर्मुजबाट आवतजावत नगर्न जहाजहरूलाई फेरि चेतावनी दिएको छ । होर्मुज भएर सामान्य अवस्थामा विश्व बजारमा खपत हुने झन्डै २० प्रतिशत तेल र ग्यास ओसारपसार हुथ्यो । तर फेब्रुअरीको अन्त्यमा द्वन्द्व सुरु भएयता इरानले स्टेट अफ होर्मुजमा आवागमन प्रभावकारी रूपमा रोकिदिएको छ । त्यसले विश्व बजारमा तेलको मूल्य बढाएको छ ।

सोमबार पत्रकार सम्मेलनमार्फत ‘अपरेसन इकोनोमिक आउटकास्ट’ भनिएको अभियानको रूपरेखा सार्वजनिक गर्दै बेसेन्टले अमेरिकाले ‘विश्वभर इरानका वित्तीय सम्बन्धमाथि आर्थिक आक्रमण’ सुरु गरेको बताएका थिए । ‘इरानसामु अब एकदम स्पष्ट विकल्प छ । उसँग दुईवटा बाटो मात्रै छन्ः विश्वबाट पूरै अलग्गिने कि सामान्य अवस्थामा फर्किएर र विश्व अर्थतन्त्रमा पुनः सहभागी हुने अवसर लिने,’ उनले भने । अमेरिकाले अब इरानको खतरा व्यवस्थापन गरि नरहेको बरु त्यसको अन्त्य गरिरहेको दाबी बेसेन्टले गरेका छन् । उनका अनुसार अमेरिकी अर्थ मन्त्रालयले इरानले प्रतिबन्ध छल्दै तेल व्यापार गर्न प्रयोग गर्ने सञ्जाल, सहयोगी र वित्तीय माध्यमको पहिचान गरेको छ ।

अर्थ मन्त्रालयले डिजिटल सम्पत्ति, प्रविधि, सुन, उड्डयन र जहाजरानी गरी पाँच क्षेत्रमा कारबाही अघि बढाएको जनाएको छ । साथै करिब ६० वटा संस्था, व्यक्ति र पानीजहाजमाथि प्रतिबन्ध लगाइएको छ । यस्ता कदमले इरानको इस्लामिक रिभोलुसनरी गाड्र्स कप्र्स (आईआरजीसी) र समग्र इरानी शासनका लागि आम्दानीका सबै सम्भावित स्रोत बन्द गर्ने बेसेन्टले बताए । इरानलाई सहयोग गर्ने वा उससँग कारोबार गर्ने सरकार तथा संस्थाहरूलाई चेतावनी दिँदै त्यस्ता गतिविधिबारे ‘आफूलाई थाहा नभएको दाबी गर्न नसक्ने’ उनले बताए ।

यस क्रममा बेसेन्टले कुनै विशेष देशको नाम लिएका थिएनन् । तर राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका नेताहरूलाई फोन गरेर इरानी शासनसँगको सम्बन्ध अन्त्य गर्न विशेष आग्रह गर्ने उनको भनाइ थियो । नयाँ प्रतिबन्धबारे बुझ्न केही समय दिनु आवश्यक रहेको भएपनि अमेरिका धेरै छिटो अघि बढ्ने र ऊ गम्भीर रहेको सम्बन्धित पक्षहरूले बुझ्नुपर्ने बेसेन्टले बताएका थिए ।

देखिएला त प्रतिबन्धको प्रभाव ?

क्यापिटल इकोनोमिक्सका प्रमुख जलवायु तथा कमोडिटी अर्थशास्त्री डेभिड अक्सलीले अमेरिकी प्रतिबन्ध घोषणाको प्रभावकारितामाथि प्रश्न उठाएका छन् । अमेरिकी नौसैनिक नाकाबन्दीले इरानको तेल निर्यातलाई यसअघि नै प्रभावित गरिरहेकाले ‘आर्थिक डी–डे’ को प्रत्यक्ष प्रभाव इरानको ऊर्जा आम्दानीमा खासै ठुलो नदेखिन सक्ने उनको भनाइ छ । ‘नयाँ प्याकेजले छोटो अवधिमा इरानको ऊर्जा प्रवाहमा प्रत्यक्ष रूपमा सीमित प्रभाव मात्रै पार्ने हाम्रो अनुमान छ,’ उनले भने ।

यसको एउटा कारण इरानको करिब ९० प्रतिशत तेल चीन जाने भएकाले पनि हो । चीनले विगतमा अमेरिकी प्रतिबन्धलाई मान्यता नदिएको र यसपटक पनि अमेरिकी दबाबबाट पछि हट्ने सम्भावना कम रहेको अक्सलीले बताए । युद्ध सुरु भएयता अमेरिकाले यसअघि पनि बारम्बार यस्ता चेतावनी दिएको थियो । अप्रिलमा ट्रम्पले इरानले युद्ध अन्त्य गर्ने सम्झौता गरेर र स्टेट अफ होर्मुज ‘आज राति नै एउटा पूरै सभ्यता नष्ट हुने’ धम्की समेत दिएका थिए ।

तर पाकिस्तानले मध्यस्थता गर्दै थप कूटनीतिक प्रयासका लागि आह्वान गरेपछि अन्ततः अमेरिकाले आफ्नो उक्त अडानबाट पछि हटेको थियो । इरान युद्धको आर्थिक असर अमेरिका र विश्वका अन्य भागमा समेत देखिएको छ । तेलको मूल्य बढेपछि दैनिक जीवनयापन खर्च बढेको छ । पेट्रोल र डिजेलको मूल्य एक वर्षअघिको तुलनामा निकै माथि पुगेका छन् । अमेरिकामा पेट्रोलको मूल्य प्रतिग्यालन ४ डलरभन्दा माथि उक्लिएको छ । नोभेम्बरमा हुने मध्यावधि निर्वाचनअघि अमेरिकी मतदाताको प्रमुख चिन्तामध्ये खर्च धान्न सक्ने क्षमता पनि परेको छ । सोमबार विश्व बजारमा तेलको मूल्य निर्धारण गर्ने प्रमुख मानक ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ९२ डलर थियो ।

कमेन्टहरु