स्वास्थ्य

चितवनमा पशुमा रेबिज संक्रमण पुष्टि भएपछि खोप अभियान

रासस
२०८३ भदौ ९ | बिहान १०:०५ बजे

चितवन । पूर्वी चितवनको रत्ननगरमा पालिएका पशुचौपायमा रेबिजको संक्रमण देखिएको छ । रत्ननगर नगरपालिका–९ र १० को नमुनामा रोगको संक्रमण पुष्टि भएको हो ।

जर्सी गाईमा रेबिज संक्रमण पुष्टि भएको पशु सेवा कार्यालय चितवनका प्रमुख डा. प्रभात न्यौपानेले जानकारी दिए । यो रोग लागेका गाईभैँसीले र्‍याल काड्ने, टाउको भित्तामा ठोक्ने, मान्छे वा अरू जनावारलाई टोक्न खोज्ने, पानी, घाँस खान नखोज्ने, दूध घटाउने र मर्ने उनले बताए ।

संक्रमण पुष्टि भएसँगै उक्त क्षेत्रमा पालिएका पशुचौपायमा रोबिजविरुद्धको खोप लगाउन सुरु गरिएको छ । यो रोग लाइसा नामक भाइरसका कारण लाग्ने गर्छ ।

जिल्लाका अरू पालिकामा समेत यो रोगको संक्रमण देखिन सक्ने जनाउँदै उनले पशुपालक किसानलाई उच्च सावधानी अपनाउन आग्रह गरे ।

रत्ननगर नगरपालिकाकी पशु चिकित्सक अनुष्का राजभण्डारीका अनुसार, पालिकाका विभिन्न वडामा पालिएका पशुमा यो रोगको लक्षण देखिएको छ । यहाँका पशुको नमुना संकलन गरी परीक्षणका निम्ति केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला काठमाडौं पठाइएको छ । संक्रमण देखिएको क्षेत्रमा उच्च सतर्कता अपनाइएको उनले जानकारी दिइन् ।

कमेन्टहरु