भारतमा सिजेपी प्रदर्शनकारीमाथि गैरकानुनी हतियारसहित व्यापक प्रहरी दमन भएको एम्नेस्टीको आरोप


नयाँदिल्ली । भारतमा ककक्रोच जनता पार्टी (सिजेपी) को नेतृत्वमा भएको ‘चलो संसद’ प्रदर्शनका क्रममा प्रहरीले प्रदर्शनकारीमाथि घातक, अमानवीय र गैरकानुनी बल प्रयोग गरेको एम्नेस्टी इन्टरनेसनलले आरोप लगाएको छ ।
प्रदर्शन भएको एक महिना बितिसक्दा पनि दिल्लीमा घटनामा संलग्न कुनै प्रहरी अधिकारीलाई जवाफदेही नबनाइएको एम्नेस्टीको दाबी छ ।
एम्नेस्टीले दिल्लीमा २० जुलाईमा खिचिएका १७ वटा र बिहारको सिवानमा २४ जुलाईमा खिचिएका दुई वटा भिडियोद्वारा यस दमनलाई प्रमाणित गरेको जनाएको छ । ती भिडियोमा दिल्ली प्रहरी, र्यापिड एक्सन फोर्स (आरएएफ) तथा केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ) का सुरक्षाकर्मी पहिचान गरिएको बताइएको छ ।
एम्नेस्टी इन्टरनेसनल इन्डियाका बोर्ड अध्यक्ष आकार पटेलले प्रदर्शनकारीको शान्तिपूर्ण रूपमा प्रदर्शन गर्ने अधिकारलाई सहज बनाउनुको सट्टा भारतीय अधिकारीहरूले सञ्चार अवरोध, ब्यारिकेड र यातायातमा रोक लगाएर प्रदर्शन दबाउन खोजेको आरोप लगाए । त्यसपछि बालबालिकासहित शान्तिपूर्ण प्रदर्शनकारीमाथि अनावश्यक तथा अत्यधिक बल प्रयोग गरिएको उनको भनाइ छ ।
पेलेट गन प्रयोगको आरोप
एम्नेस्टीले २० जुलाईमा दिल्लीको कनॉड प्लेस र संसद मार्गको चोकमा आरएएफका एक अधिकारीले भीडतर्फ पेलेट गन चलाएको देखिने दुई भिडियो प्रमाणित गरेको जनाएको छ । त्यही क्षेत्रका अन्य भिडियोमा पेलेटबाट घाइते भएका जस्तो देखिने दुई प्रदर्शनकारी पनि देखिएको संस्थाले बताएको छ ।
एम्नेस्टीसँग कुरा गरेका एक घाइते प्रदर्शनकारीका अनुसार प्रहरीले कुनै पूर्वचेतावनीबिना पेलेट गन चलाएको थियो । उनले आफ्नो शरीरमा करिब २५ देखि ३० वटा पेलेटका घाउ लागेको र अस्पतालमा उपचार गराउनुपरेको बताएका छन् ।
एम्नेस्टीका अनुसार ‘बर्डसट’ भनिने साना धातुका धेरै छर्रा प्रहार गर्ने गोली कानून कार्यान्वयनका लागि विकसित गरिएको होइन । यसको फैलावट अनियन्त्रित हुने भएकाले लक्षित व्यक्तिसँगै वरपरका मानिसलाई समेत गम्भीर चोट लाग्ने जोखिम हुन्छ ।
दिल्ली प्रहरीले भने पेलेटबाट प्रदर्शनकारी घाइते भएको समाचारलाई ‘फेक न्युज’ भन्दै अस्वीकार गरेको थियो । प्रहरीले भने प्रदर्शनमा अत्यधिक बल प्रयोग भएको दाबी पनि अस्वीकार गरेको एम्नेस्टीले जनाएको छ ।
अश्रुग्यास र लाठीचार्ज
एम्नेस्टीले प्रदर्शनका क्रममा अश्रुग्यासका ग्रिनेड प्रदर्शनकारीको टाउकोमाथिबाट उडाएर प्रहार गर्नुपर्ने अन्तर्राष्ट्रिय मापदण्डविपरीत सीधै भीडतर्फ प्रहार गरिएको प्रत्यक्षदर्शीको भनाइ उद्धृत गरेको छ । संस्थाका अनुसार प्रदर्शनकारीबाट व्यापक र गम्भीर हिंसा भएको प्रमाणसमेत उपलब्ध छैन ।
त्यस्तै, एम्नेस्टीले दिल्ली प्रहरी र आरएएफका अधिकारीले शान्तिपूर्ण प्रदर्शनकारीमाथि लामो लाठी प्रयोग गरेको देखिने आठ वटा भिडियो प्रमाणित गरेको जनाएको छ । केही भिडियोमा कुनै उक्साहटबिना प्रदर्शनकारीलाई कुटिएको र एक युवकलाई भुइँमा लडिसकेपछि पनि पटक–पटक प्रहार गरिएको देखिएको संस्थाको दाबी छ ।
एम्नेस्टीले एक भिडियोमा आरएएफका एक अधिकारीले शान्तिपूर्ण प्रदर्शनकारीमाथि विद्युतीय झट्का दिने लाठी प्रयोग गरेको पनि प्रमाणित गरेको जनाएको छ । यस्तो उपकरणले गम्भीर पीडा र दीर्घकालीन शारीरिक तथा मनोवैज्ञानिक क्षति पुर्याउन सक्ने भन्दै यसको प्रयोग तत्काल रोक्न संस्थाले माग गरेको छ ।
सिवानमा गोली चलेको दाबी
एम्नेस्टीले २४ जुलाईमा बिहारको सिवानमा खिचिएको दुई वटा भिडियो पनि प्रमाणित गरेको जनाएको छ । ती भिडियोमा राज्य प्रहरीका एक अधिकारीले प्रदर्शनकारीतर्फ एके–प्रकारको असल्ट राइफलबाट गोली चलाएको देखिएको संस्थाको दाबी छ ।
दिल्ली प्रहरीका अनुसार प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीसहित ४०० भन्दा बढी मानिस घाइते भएका थिए । सिवानमा कम्तीमा तीन जना घाइते भएको र एक सर्वसाधारणको घाँटीमा गोली लागेको एम्नेस्टीले जनाएको छ ।
प्रदर्शनमाथि प्रतिबन्धको प्रश्न
चलो संसद मार्चअघि अधिकारीहरूले प्रदर्शनलाई अनुमति नदिएको, प्रदर्शन हुने क्षेत्रमा इन्टरनेट सेवा बन्द गरेको, पाँच जनाभन्दा बढी भेला हुन नपाउने आदेश जारी गरेको, दिल्लीका केही मेट्रो स्टेशन बन्द गरेको तथा मध्य दिल्लीमा ब्यारिकेड लगाएको एम्नेस्टीले जनाएको छ । संस्थाका अनुसार यस्ता कदमले शान्तिपूर्ण रूपमा भेला हुने अधिकारमाथि अनावश्यक प्रतिबन्ध लगाएको देखिन्छ ।
एम्नेस्टीले भारतीय अधिकारीसँग प्रदर्शनका क्रममा बन्दुक, पेलेट, अश्रुग्यास, लाठी र विद्युतीय झट्का दिने उपकरण प्रयोगबारे तत्काल निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न तथा त्यसको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । संस्थाले पेलेट गोली र प्रत्यक्ष सम्पर्कमा प्रयोग हुने विद्युतीय झट्का उपकरणको प्रयोग तत्काल अन्त्य गर्नसमेत आग्रह गरेको छ ।
भारतमा भीड नियन्त्रणका क्रममा पेलेट गन प्रयोगबारे यसअघि पनि मानवअधिकारसम्बन्धी गम्भीर प्रश्न उठ्दै आएका छन् । एम्नेस्टीका अनुसार संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयले सन् २०१८ मै जम्मु–कश्मीरमा भीड नियन्त्रणका लागि पेलेट गन प्रयोग तत्काल रोक्न भारतलाई सिफारिस गरेको थियो ।






















